कर्णाली

मुख्यमन्त्री महिला आयआर्जनमा सुर्खेतका द्वन्द्वपीडित तथा एकल महिला

लक्ष्मी भण्डारी |
असार १५, २०७९ बुधबार १५:७ बजे

सुर्खेत- सुर्खेतका महिलाहरू मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रममा सहभागी भएका छन् । जिल्लाका द्वन्द्वपीडित तथा एकल महिलाहरू आर्थिक रूपमा सशक्त हुने उद्देश्यले उक्त कार्यक्रममा सहभागी भएका छन् । उनीहरू कृषि तथा व्यवसायमार्फत आयआर्जन गरी आत्मनिर्भर हुने सोचका साथ अघि बढेका हुन् । 

हाम्रो आधार महिला कृषि तथा पशुपालन सहकारी वीरेन्द्रनगरले उक्त कार्यक्रम सञ्‍चालन गरेको छ । कृषि विकास निर्देशनालयको २० लाख रूपैयाँ आर्थिक अनुदानमा उक्त सहकारीमार्फत कार्यक्रम सुरू गरिएको छ । यसैबीच सहकारीले सहकारीमा आवद्ध सदस्यहरूलाई उक्त कार्यक्रमको विषयमा जानकारी गराएको छ ।


कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमको विषयमा सहकारीमा आवद्ध महिलालाई जानकारी गराए । उनले कार्यक्रममार्फत आर्थिक आयआर्जन गर्न सहज हुनेमा जोड दिए ।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष डिला आचार्यले सहकारीमा आवद्ध महिलालाई वार्षिक पाँच प्रतिशत ब्याजदरमा ऋण प्रवाह गरिने बताइन् । ‘एक जना सदस्यलाई दुई लाख रूपैयाँसम्म ऋण लैजान पाउने व्यवस्था छ,’ आचार्यले भनिन्, ‘लगेको ऋणले कृषि तथा व्यवसायमा लगाउनु पर्ने छ ।’

सहकारीका कार्यबाहक अध्यक्ष नन्दा श्रेष्ठले सहकारीमा जिल्लाभरका द्वन्द्वपीडित तथा एकल महिलाहरू आवद्ध रहेको बताइन् । उनले सहकारीमार्फत ऋण ल्याएर तरकारी तथा फूल खेतीका साथै व्यवसायमा लगानी लगाएमा राम्रो आयआर्जन हुने भएकाले यसतर्फ लाग्‍नुपर्ने जिकिर गरिन् ।

वीरेन्द्रनगर वडा नम्वर ९ का वडाध्यक्ष ऋषि गिरीले महिलाको जिवन स्तरमाथि उठाउन यस कार्यक्रमले सहयोग गर्ने भएकाले सबै मिलेर कार्यान्वयनमा जोड दिन आग्रह गरिन् । मानवअधिकारका लागि महिला एकल महिला समूहका अध्यक्ष ममता नगालले द्वन्द्वपीडित तथा एकल महिलाहरू एकजुट भएर आयआर्जनमा लाग्‍नु पर्नेमा जोड दिइन् ।


Author

थप समाचार
x