लुम्बिनी

रुपन्देहीमा ८ सय ७ पदका लागि ५ हजार बढी उम्मेदवार

विक्रम खड्का |
बैशाख १३, २०७९ मंगलबार १६:५५ बजे

बुटवल–  १६ स्थानीय तह रहेको रुपन्देहीमा ५ हजारभन्दा बढीको उम्मेदवारी दर्ता भएको छ । ८ सय ७ पदका लागि रुपन्देहीमा ५ हजार ७४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालय रुपन्देहीका अनुसार प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यमा गरी ५ हजार ७४ जनाको उम्मेदवारी दर्ता भएको छ । १६ पालिकाको प्रमुख–अध्यक्षमा २ सय १६ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, उपप्रमुख–उपाध्यक्षमा १ सय ७२ जनाको उम्मेदवारी परेको छ । १६ वटै पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार मनोनयन दर्ता भएको थियो । राजनीतिक दलसँगै सबैजसो पालिकामा स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गरेका छन् ।


रुपन्देहीमा एक उपमहानगरपालिका, ५ वटा नगरपालिका र १० गाउँपालिका गरी १६ वटा स्थानीय तह छन् । ठूलादेखि मधेसवादी दलको समेत प्रभाव रहेको रुपन्देहीको दक्षिणी भेगमा उम्मेदवार बन्ने होड बढी देखिएको छ । जिल्लामा सबैभन्दा बढी उम्मेदवारी दर्ता लुम्बिनी सांस्कृतिक नगरपालिकामा भएको छ । कुल ५ सय ६६ वटा उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा १५ र उपप्रमुखमा १९ जनाले उमेदवारी दर्ता गराएका छन् । नगरपालिकामा १३ वडा छन् ।

तीन वटामा १० जना वा त्यसभन्दा बढीका दरले वडाध्यक्षका उम्मेदवार छन् । लुम्बिनी सांस्कृतिकपछि तिलोत्तमा नगरपालिकामा उम्मेदवारको संख्या धेरै छ। यहाँ ४६५ जनाको मनोनयन दर्ता भएको छ । १७ वटा वडा र ८५ हजार बढी मतदाता भएको तिलोत्तमाका दुई वडामा मात्रै १०– १० जना वडाध्यक्षका उम्मेदवार छन् । अरु वडामा त्यो भन्दा कम छन् ।
 

ितलोत्तमा नगरपालिका जिल्लामा सबैभन्दा बढी पालिका प्रमुखका उम्मेदवार भएको नगर हो। यहाँ नगर प्रमुखको लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिकातर्फ सम्मरीमाइमा सबैभन्दा बढी १८ अध्यक्षका उम्मेदवार छन् । १८ जनाले गाउँपालिका अध्यक्षका लागि उमेदवारी दिएका छन् । ७ वडामध्ये ३ वटामा १० र त्योभन्दा बढी वडाध्यक्षका उम्मेदवार छन् । सम्मरीमाइमा कुल उम्मेदवारको संख्या ३ सय १६ छ । दक्षिण भेगकै कोटहीमाइ गाउँपालिकामा ३२६ जनाले उमेदवारी दिएका छन् ।
 

गैडहवामा ३४५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । बुटवल उपमहानगरपालिकाको नगर प्रमुखका लागि १७ जना र उपप्रमुखका लागि १६ जनाको उम्मेदवारी परेको छ । यहाँको ११ नम्बर वडामा अध्यक्षमा ११ जनाको उम्मेदवारी परेको छ । अरु १८ वटा वडामा १० भन्दा कम वडाध्यक्षका उम्मेदवार छन् । बुटवलमा ४१७ जनाको उम्मेदवारी दर्ता भएको छ । देवदह नगरपालिकामा प्रमुखको लागि १७ जनाको उम्मेदवारी परेको छ । देवदहमा ३५७ जनाले उमेदवारी दर्ता गरेका छन् । सिद्धार्थनगर नगरपालिकामा प्रमुखमा १६ जनाले मनोनयन दर्ता गरेका छन् ।

सिद्धार्थनगरमा सबै पदमा गरेर ४२५ जना उम्मेदवार छन् । सैनामैना नगरपालिकामा २२५ जनाले उमेदवारी दिएका छन् । नगर प्रमुखका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर ३ देखि ६ जनासम्मका दरले मात्रै वडाध्यक्षमा उम्मेदवारी परेको छ । शुद्धोधन र सियारी गाउँपालिकामा पनि उम्मेदवारी दर्ता कम भएको छ । यहाँ गाउँपालिका अध्यक्षमा १० जनाभन्दा कमले मनोनयन दर्ता गरेका छन् । वडाध्यक्ष पदमा पनि ५ जना हाराहारीमा उम्मेदवारी परेको छ ।

जिल्लाको पश्चिमी कञ्चन गाउँपालिकामा सबैभन्दा कम १५२ जनाको उम्मेदवारी परेको छ। गाउँपालिका अध्यक्षमा १२ जनाले मनोनयन दर्ता गरे । वडा तहमा मनोनयन संख्या कम छ । वैशाख ३० गते हुने निर्वाचनबाट जिल्लाका १६ पालिकामा एक–एक जना प्रमुख–अध्यक्ष, एक–एक जना उपप्रमुख–उपाध्यक्ष र १ सय ५५ जना वडाध्यक्ष चयन हुनेछन् । 

त्यस्तै, १ सय ५५ वडामा ६ सय २० जना वडा सदस्य निर्वाचित हुनेछन् । रुपन्देहीमा कुल ६ लाख ३२ हजार ३६० मतदाता छन् । यसमा पुरुष ३ लाख २३ हजार ७७८, महिला ८ लाख ८ हजार ५७४ र अन्य ८ जना छन् । २०८ मतदान स्थल छन् भने ७०० सय मतदान केन्द्र छन् । 
 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x