लुम्बिनी

पानीमाथि वडा कार्यालय, बोटिङको आनन्दसँगै सेवा प्रवाह

इकागज |
माघ ६, २०७८ बिहीबार १७:३० बजे

बुटवल- रुपन्देहीको तिलोत्तमा  नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ । पानीमाथि निर्माण गरिएको यो मुलुककै एकमात्र सरकारी कार्यालय रहेको नगरपालिकाको दावी छ ।

तिलोत्तमा नगरपालिकाले-११ को कार्यालय भवन पानीमाथि निर्माण गरेको हो । कार्यालयको वरिपरी पोखरी व्यवस्थित गरिएको छ । त्यहाँ माछा छोडिएको छ भने बोटिङ सेवा सञ्चालन गर्नुका साथै रात्रिकालीन समयमासमेत आकर्षक बत्तीहरूले मनमोहक बनाइएको छ । 


वडा कार्यालयको एक समारोहका  बीच नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी आचार्यले उद्घाटन गरेका छन् । वडा नम्बर ११ स्थित मद्रहानीमा रहेको ऐतिहासिक पोखरी स्थलमा पर्यटकीय वडा कार्यालय भवन निर्माण गरिएको हो ।

करिब ६० लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको हो । आयाम निर्माण सेवा तिलोत्तमासँग ६३ लाखको ठेक्का समझौता भएकोमा ६० लाखमा निर्माण सम्पन्न भएको तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदिप वनले जानकारी दिए ।

यसले सेवा प्रवाह मात्र नभै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्ने नगर प्रमुख  वासुदेव घिमिरेले बताए । 'अब वडा कार्यालयमा आउने सेवाग्राहीहरू सेवा लिनका लागि मात्र आउँदैनन्, बोटिङको आनन्द लिनका लागि पनि आउँछन्,' उनले भने । 

वडा नम्बर ११ का अध्यक्ष मुक्तिनारायण चौधरीले स्थानीय नागरिकहरुको सुझावको आधारमा नगर कार्यपालिकाबाट निर्णय गराएर पोखरीमाथि वडा  कार्यालय भवन  निर्माण गरिएको हो । 'कार्यालयमा आउने सेवाग्राहरूबाट आन्तरिक पर्यटनको पनि प्रवर्द्धन होस् भन्ने हेतुले पोखरीमा माछासमेत छाडिएको र बोटिङ समेत सञ्चालन गरिएको हो, यसले आम्दानी वृद्धमा पनि सघाउ पुर्‍याउँछ,' उनले  भने ।


Author

थप समाचार
x