लुम्बिनी

बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता

इकागज |
जेठ ३, २०८० बुधबार २१:२५ बजे

लुम्बिनी- बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरे ।    
    
बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाले खोप पाएको वडा खोप समन्वय समिति र बुटवल उपमहानगरपालिकाको सिफारिसका आधारमा जिल्ला खोप समन्वय समितिको स्वीकृतिमा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।    
    
प्रमुख पाण्डेयले बुटवलमा कुनै पनि प्रकारका खोपको अभाव हुन नदिन बुटवलले विशेष चासो दिएको र पर्याप्त पूर्वतयारी गर्दै आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गरेको बताए । उनले स्वास्थ्य क्षेत्रमा बुटवललाई अगुवा बनाउनका लागि छिट्टै नै दुई वटा सुविधासम्पन्न अस्पताल सञ्चालनको तयारी अवस्थामा पुगेको र यसले बुटवलको स्वास्थ्य क्षेत्रमा अर्को फड्को मार्ने बताए ।    
    
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको स्वास्थ्यलाई बुटवल उपमहानगरपालिकाले विशेष चासो र प्राथमिकतामा राखेको बताए । स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बुटवलले खोप दिगोपना सुनिश्चित गर्न हरेक पटक अगाडि नै काम गरेको र सम्पूर्ण सुविधा प्रदान गरेको बताए।    
बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बुटवलले १६ महिनादेखि दुई वर्षसम्मका बालबालिकाले १५ महिनासम्ममा पाउनुपर्ने सम्पूर्ण खोप लगाएको र पूर्ण खोप सुनिश्चित गर्दै आवश्यक मापदण्ड पूरा गरेको बताए ।



Author

थप समाचार
x