लुम्बिनी

मन्त्री बन्‍ने कुरामा सत्यता छैन : गगन थापा

इकागज |
चैत ११, २०७९ शनिबार १३:३२ बजे

फाइल तस्बिर

भैरहवा- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले आज  भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले मन्त्री बन्न लागेको कुरा हल्ला मात्र भएको बताएका हुन् ।

“मन्त्री बन्न लागेको कुरामा सत्यता छैन, मेरो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने मात्र रहेको छ”, उनले भने ।


महामन्त्री थापाले आफूलाई अहिलेसम्म कसैले बोलाएर केही पद नदिएको तर लडेरै लिएको प्रतिक्रिया दिए । उनले भने– “केही साथीहरु भ्रममा पर्नुभयो जस्तो छ, मलाई कसैले बोलाएर केही भनेको छैन । जे पाएको छु, लडेर पाएको छु । साथीहरुको माया र शुभेच्छाले अगाडी बढेको छु ।”

महामन्त्री थापाले जनताको असन्तुष्टी र छटपटीलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने जिकिर गरे ।

“सरकारले जनतालाई राहत  महसुस गराउनुपर्छ”, उनले भने । आजभन्दा भोलीको अवस्था राम्रो हुँदै जान्छ भन्ने विश्वास दिलाउने गरी काम गर्न उनले सुझाव दिए । कांग्रेस केन्द्रीय समितिको बैठक समयमा बस्न नसकेको महामन्त्री थापाको गुनासो थियो । 
 
आठ लाख पार्टी सदस्य भएको र तीन सय स्थानीय तहको नेतृत्व गरिरहेको कांग्रेसलाई जरैबाट मजबुत बनाउनुपर्ने उनले जिकिर गरे । विसं २०८४ को निर्वाचनमा कांग्रेस देशका १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने र त्यसका लागि तयारी गरिरहेको महामन्त्री थापाले बताए । रासस


Author

थप समाचार
x