लुम्बिनी

सुकुम्बासीको अभिलेख राख्दै बुटवल उपमहानगर

इकागज |
मंसिर २०, २०७९ मगलवार २०:१ बजे

बुटवल- बुटवल उपमहानगरपालिकाले अव्यवस्थित बसोबासीको अभिलेख राख्न थालेको छ । जसका लागि बुटवल उपमहानगरपालिकाले अव्यवस्थित रूपमा बसोबास गरिरहेका परिवारलाई बसोबासको प्रमाणपत्र दिने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

बुटवलका १९ वटै वडाहरूमा लामो समयदेखि बसोबास गर्दै आएका बासिन्दालाई दाबीविरोध र गुनासो भएमा १५ दिनभित्र कागजातसहित दाबीविरोध गर्न उपमहानगरपालिकाले आह्वान गरेको छ । 


१५ दिनभित्र कुनै दाबीविरोध नआएमा लगत्तै बसोबासको प्रमाण पत्र वितरण गर्ने गरी तयारी भएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए । उनले लामो समयदेखि भोगचलन गर्दै आएका र तत्काल लालपूर्जा पाउने प्रक्रियामा जान नसकेका बासिन्दाको अभिलेख राख्ने र सो क्षेत्रको जग्गा किनबेचमा समेत रोक लगाउने उद्देश्यले बसोबासको प्रमाणपत्र दिन लागेको बताए ।

बुटवलभित्र १६ हजार ५ सय २१ घरपरिवार अव्यवस्थित रूपमा बसोबास गर्दै आएको तथ्यांक संकलनपछि सार्वजनिक क्षेत्र अतिक्रमण रोक्न र अवैध रूपमा भइरहेको किनबेच रोक्ने उद्देश्यले बसोबासको प्रमाण पत्र दिने तयारी गरेको उनले बताए ।

भूमिसम्बन्धी ऐनले स्थानीय तहलाई दिएको वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने, पहिचान गर्ने र प्रमाणीकरण गर्न सक्ने अधिकारबमोजिम नै लगत संकलन र पहिचान गर्ने काम गर्न लागिएको उनले बताए ।
 
'स्थानीय सरकारका रूपमा आफ्नो सिमानाभित्र को कस्तो अवस्थामा बसिरहेको छ भन्ने अभिलेख राख्ने र त्यसरी बसिरहेकामध्ये लालपुर्जाविहीन परिवारलाई बसोबासको प्रमाणपत्र दिन लागिएको हो,' उनले भने । 

गत स्थानीय निर्वाचनमा बुटवल उपमहानगरपालिकाको प्रमुखमा विजयी भएपछि खेलराज पाण्डेयले अव्यवस्थित बसोबासीलाई बसोबासको प्रमाण पत्र दिने निर्णय गरेका थिए । चुनावबाट अनुमोदन भएको एजेण्डाअनुसार नै पहिलो निर्णय गरेको र सोहीअनुसार अव्यवस्थित बसोबासीलाई प्रमाण पत्र दिइने नगर प्रमुख पाण्डेयले बताए ।

'अव्यवस्थित बसोबासीलाई कहिलेसम्म अव्यवस्थित भनिरहने, कहिलेसम्म व्यवस्थित नगर्ने, यो बुटवलको मूल समस्या मध्येको एक हो,' उनले भने, अहिले यो बसोबासको क्षेत्रमा पनि अवैध रूपमा किनबेच र थप अतिक्रमण भइरहेको छ, त्यसलाई रोक्नका लागि पनि हामीले बसोबासको प्रमाणपत्र दिन लागेका हौं ।'
 
उनले बसोबासको प्रमाणपत्र वितरणपश्चात् थप बसोबास रोकिने र त्यसपछि हुने अतिक्रमण रोकिने बताए । न्युज कारखाना


Author

थप समाचार
x