लुम्बिनी

प्रदेशको राजधानी दाङमा सार्नुको विकल्प छैन : प्रदेश अर्थमन्त्री खड्का

इकागज |
मंसिर २०, २०७९ मंगलबार १५:४० बजे

काठमाडौँ- लुम्बिनी प्रदेशका अर्थ तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आफ्नो प्रदेशको राजधानी दाङको देउखुरी सार्नुको विकल्प नभएको बताएका छन् । 

शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले राजधानी सो ठाउँमा सार्ने निर्णय गरेकाले वर्तमान सरकारले त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको उनको भनाइ थियो । मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले मन्त्रालयको भवनहरू बन्ने काम जारी रहेकाले सबै मन्त्रालयहरू क्रमशः सो ठाउँमा सार्दै जाने पनि स्पष्ट पारे ।


तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले कार्यान्वयन गर्नुपर्ने भएकाले दाङमा प्रदेशको राजधानी सार्ने कामलाई अघि बढाइएको उनले बताए । मन्त्री खड्काले भने, ‘सबै दलको सहमतिमा शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले प्रदेशको राजधानी सार्ने निर्णय गरेको र त्यसलाई कार्यान्वयनमा लैजाने काम मात्रै वर्तमान सरकार हो । यसमा कसैले पनि आपत्ति जनाउनुपर्ने कारण छैन ।'

मन्त्री खड्काले अन्तराष्ट्रिय शक्ति केन्द्रहरूले दलहरूलाई कमजोर बनाउने काम गरिरहेको भन्दै सचेत रहन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेकपा (एमाले)का प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठले भने छापामारा शैलीमा मन्त्रालयहरू दाङमा सार्ने कामको सुरुवात गरिएको भन्दै आपत्ति जनाए । उनले राजनीतिक दल र सरोकारवाला निकायहरूसँग छलफल समेत नगरी सेवाग्राहीलाई असर पर्ने गरी मन्त्रालयहरू दाङमा सार्ने काम गरिएको भन्दै तत्काल फिर्ता गर्न पनि प्रदेश सरकारसँग माग गरे ।

प्रदेश सांसद श्रेष्ठले पूर्वाधारको अभावमा जनताले सेवा पाउने काम सहज नहुने भएकाले पनि प्रदेश राजधानी लुम्बिनीबाट अन्यत्र सार्न नमिल्ने जिकिर गरे । लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको फर्निचर गए राति दाङको देउखुरीमा सार्ने काम गरिएपछि रुपन्देही एमालेका सांसदहरू त्यसको विरोधमा उत्रिएका छन् । 


Author

थप समाचार
x