लुम्बिनी

अन्योलमा प्रदेश सभाको कार्यकाल

इकागज |
असोज ७, २०७९ शुक्रवार १६:४२ बजे

रुपन्देही- गत शनिबार प्रतिनिधि सभाको अन्तिम बैठकमा प्रतिनिधि सभाका सदस्य तथा राजनीतिक दलका शीर्ष नेताले अन्तिम सम्बोधन गरेर बिदा भए पनि प्रदेश सभाको कार्यकाल कहिलेसम्म रहने भन्ने विषय अन्याेल छ । प्रदेशको आफ्नो निर्वाचन ऐन नहुँदा अन्याेल देखिएको हो ।

यही अन्याेलताकै कारण असोज ३ गते लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको संविधान दिवस मूल समारोहमा मुख्यमन्त्री, मन्त्री र प्रदेश सभाका सदस्य लोगो बिनाकै पोसाकमा सरिक भए । कार्यकालको अन्याेलताले प्रदेश सभाका अधिकांश सदस्यको कार्यक्रममा उपस्थिति थिएन । सङ्घले बनाएको निर्वाचन ऐनमा प्रदेश सभाको कार्यकालका विषयमा स्पष्ट उल्लेख नभएका कारण प्रदेश सभाको कार्यकाल कहिलेसम्म रहने भन्ने प्रष्ट हुन नसकेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले बताए । 


उनले भने, 'कार्यकाल कहिलेदेखि सकिन्छ भनेर पत्रकारले समेत सोधिरहनुभएको छ तर, हामीसँग जवाफ छैन, जनप्रतिनिधि निर्वाचित भएपछि शपथग्रहण गरेको दिनलाई अन्तिम मान्ने कि, प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई भन्नेमा अन्याेलमा छौँ ।' यसबारे सङ्घले बनाएको निर्वाचन ऐनमा स्पष्ट व्यवस्था हुन नसक्दा समस्या भएको सचिव पुनमगरको भनाइ थियो  । 

गत शनिबार प्रतिनिधि सभाको अन्तिम बैठकमा सङ्घको कार्यकाल सकिएको घोषणापछि प्रदेश सभामा पनि बिदाइ कार्यक्रमको तयारी भयो तर सङ्घीय संसद्को कार्यकालसँगै प्रदेशको कार्यकाल पनि समाप्त हुनुपर्ने भन्ने कानुनी आधार नभएको भन्दै सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा बिदाइ कार्यकम स्थगित भयो । 'प्रदेश सभाको कार्यकाललाई लिएर सबैमा अलमल देखियो । संविधान दिवसका अवसरमा मुख्यमन्त्री र मन्त्रीहरु नै लागो निकालेर आउनुभएछ तर आधिकारिक निर्णय नआउँदासम्म कार्यकाल सकिएको कसरी मान्नु ?' सभामुख घर्तीको भनाइ थियो । 

'प्रदेश सभाको कार्यकाल चैतमा पूरा हुने भएकाले निर्वाचन घोषणा हुने बित्तिकै समयावधि सकिने अवस्था छैन । समानुपातिकको बन्द सूचीमा नाम परिसकेपछि कार्यकाल सकिने हो भने आयोगले नाम पनि सार्वजनिक गरेको छैन । त्यसैले समानुपातिकको सूची प्रकाशित गरेपछि प्रदेश सभा सदस्यको नाम परेको छ भने स्वतः हट्ने कुरा रहन्छ,' उनले भने ।

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम पेश गरेपछि प्रदेश सभाको कार्यकालका विषयमा सङ्घीय सरकारले नै जानकारी गराउनुपर्नेमा त्यसो हुन नसक्दा केही अन्याेलता देखिए पनि अहिले नै कार्यकाल सकिएको अवस्था नभएको सभामुख घर्तीले बताए । प्रदेश सभाले आफ्नो निर्वाचन ऐन नबनाउँदा यस्तै अन्याेलको स्थिति पैदा भएकाले आगामी प्रदेश सभाको नेतृत्वले सुरुमै प्रदेशको निर्वाचन ऐन निर्माण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

सभामुख घर्तीले भने, 'हाम्रो देशको मूल कानुन संविधान हो । संविधानमा पनि प्रदेश सभाको कार्यकाल पाँच वर्ष भन्ने छ । पाँच वर्षअघि निर्वाचन घोषणा हुँदा अन्तिम दिन कहिले मान्ने भन्ने विषयमा स्पष्ट उल्लेख छैन । न्यायिक सिद्धान्तअनुसार पनि प्रत्यक्षतर्फबाट उम्मेदवारको मनोनयन भयो भने स्वतः कार्यकाल सकिन्छ ।' प्रदेश स्वायत्त निकाय भएकाले आफ्नो ऐन आफैँ बनाउनुपर्नेमा सङ्घले बनाएको ऐनमा पनि स्पष्ट व्यवस्था नभएकाले अन्याेल सिर्जना भएको हो । 

पहिलोपटक भएको हुनाले सङ्घले प्रदेशको निर्वाचन गराउने कुरा स्वभाविक भए पनि सङ्घीयता कार्यान्वयन भएपछि प्रदेशको निर्वाचन प्रदेश सरकारले नै गराउन पाउनुपर्ने व्यवस्था गरिनुपर्ने उप सभामुख कृष्णी थारुले बताइन् । सङ्घको घोषणाका आधारमा नभई प्रदेशले आफ्नो निर्वाचन ऐनअनुसार निर्वाचन कार्यक्रम अघि बढाउन पाउने व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो ।

त्यसो त ऐनमै स्पष्ट व्यवस्था नभएकाले प्रदेश सभाका सदस्य नै अलमलमा छन् । कार्यकालका विषयमा प्रदेश सभा सचिवालयबाट कुनै जानकारी आउँला भनेर पर्खिएर बसेका छौँ,' प्रदेश सभा सदस्य दीपा विकले भनिन् । संविधानमा प्रदेश सभाको कार्यकाल पाँच वर्ष उल्लेख छ । निर्वाचन आयोगको निर्वाचन कार्यक्रमअनुसार दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरिसकेका कारण सङ्घसँगै प्रदेशको समयावधि पनि अब सकिएको अधिवक्ता दामोदर घिमिरले बताए  । 

उनका अनुसार संविधानको धारा १७७ मा संविधानबमोजिम अगावै विघटन भएकोमा बाहेक प्रदेश सभाको कार्यकाल पाँच वर्षको हुने उल्लेख छ । 'नैतिकताका आधारमा पनि समानुपातिक उम्मेदवारको बन्दसूची पेश भइसकेपछि पदमा रहने कुरा उचित हुँदैन,' उनले भने । प्रदेश सभाका कम्प्युटर अधिकृत बोधिसिंह सुनारका अनुसार अहिलेसम्म  प्रदेश सभाको दशौँ अधिवेशन सम्पन्न भएको छ । यो अवधिमा दुई सय नौ बैठक बसेको छ  । ती बैठकको समयावधि दुई सय ७५ घण्टा २० मिनेट रहेको छ । प्रदेश सभाको पहिलो बैठक २०७४ माघ २१ गते बसेको थियो भने अन्तिम बैठक गत साउन ६ गते बसेको थियो । 

यसबीचमा प्रदेश सभामा ८४ विधेयक दर्ता भएकामा ७२ वटा सभाबाट पारित भई प्रमाणीकरणसमेत भएका छन् । सात विधेयक विचाराधीन छन् भने पाँच वटा फिर्ता भएका छन् । प्रदेश सभामा नौ विधेयकमाथि संशोधन प्रस्ताव दर्ता भएको छ । प्रदेश सभाको यस कार्यकालमा दुई मुख्यमन्त्रीको निर्वाचन, बजेट तथा कार्यक्रम प्रस्तुतलगायत जनताको प्रत्यक्ष सरोकार राख्ने केही कानुन पारित भएको छ । रासस


Author

थप समाचार
x