गण्डकी

संघीय बजेटमा गण्डकी : पर्यटन र पूर्वाधारमा जोड

धनबहादुर गुरुङ |
जेठ १६, २०८० मगलवार २०:३१ बजे

पोखरा- अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । विनियोजित संघीय बजेटमा गण्डकीका एक दर्जन बढी योजना समेटिएका छन् । ती योजनाहरूमध्ये गण्डकीको पर्यटन र पूर्वाधार क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, संस्कृति, खानी क्षेत्रलाई पनि समेटेर बजेट विनियोजन भएको छ ।

सरकारको बजेटमा यो वर्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयतर्फ ११ अर्ब ९६ करोड बजेट विनियोजन भएको छ । यो बजेटले गण्डकी प्रदेशको पर्यटन पूर्वाधार निर्माणमा ठूलो टेवा पुग्ने देखिएको छ । बजेट विनियोजनसँगै सरकारले २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाउने घोषणाा पनि गरेको छ । 
गण्डकी प्रदेश अघोषित पर्यटनको राजधानी हो । त्यसकारण पनि सरकारले घोषणा गरेको पर्यटन दशकले गण्डकी प्रदेशमा धेरै पूर्वाधार बन्ने निश्चित जस्तै छ । केही पूर्वाधार सरकारले बजेट मार्फत नै घोषणाा गरेको छ । जसमा सरकारले आगामी आर्थिक वर्षमा पोखरादेखि मनाङसम्मको पदमार्ग निर्माण गर्ने बताएको छ ।


संरक्षित क्षेत्र भित्र ६ सय २१ किलोमिटर पर्यटकीय मार्ग निर्माण र मर्मत सुधार गर्ने विषय बजेटमा समेटिएको छ । यसले गर्दा अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र ढोरपाटन सिकार आरक्षमा पदमार्ग बन्ने गण्डकीवासीमा आशा पलाएको छ ।

पर्यटन कै लागि मुक्तिनाथ, देवघाट र त्रिवेणीधामको संरक्षण र पूर्वाधार विकास एवं सौन्दर्यीकरण गरिने विषयले प्रवेश पाएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ पर्यटकीय गन्तव्यको पहिचान र पूर्वाधारका लागि २ अर्ब १३ करोड विनियोजन गरेको छ । यसले गण्डकी प्रदेशमा प्रचारप्रसार हुन नसकी आझेलमा रहेका पर्यटकीय गन्तव्य उजागर हुने विश्वास लिइएको छ ।

सरकारले गोखरामा जनजातिको संस्कृति र जीवनशैली झल्किन गरी जीवन्त संग्राहलय स्थापना गर्ने प्रक्रिया अघि बढाउने उल्लेख गरेको छ । यस्तै पर्वत, म्याग्दी र बागलुङको उत्तरी भाग समेटेर पर्या–पर्यटन र मगर संस्कृति पर्यटन क्षेत्रका रूपमा विकास गरिने पनि बजेटमा लेखिएको छ ।

पर्यटनसँगै पोखरेलीका लागि महत्वपूर्ण पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने व्यवस्था मिलाउने शीर्षकले धेरैको ध्यान खिचेको छ । २०२३ जनवरीदेखि सञ्चालमा आएको विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । बजेटमा समेटिएको यो बुँदाले यही आर्थिक वर्षमा अन्तर्राष्ट्रिय उडान हुनेमा गण्डकीवासी विश्वस्त बनेका छन् । यसका लागि सरकारले पोखरामा हवाई इन्धन भण्डारण गृह निर्माण गर्ने जनाएको छ ।

योसँगै सरकारले गण्डकीमा सडक पूर्वाधारमा बढि ध्यान दिएको देखिएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत पर्वत र बागलुङ लगायत विभिन्न १२ खण्डको निर्माण र स्तरोन्नति गर्न ३ अर्ब ९६ करोड विनियोजन गरेको छ । काली गण्डकी करिडोर निर्माणका लागि १ अर्ब ५८ करोड विनियोजन गरेको बजेटमा उल्लेख छ ।

योसँगै ११ किलो–छेपेटार–भालुस्वारा–वारपाक सडक निर्माण तथा स्तरोन्नति गर्न ८० करोड विनियोजन गरेको छ । भने, डुम्रे–बेसीशहर–चामे मनाङ सडक स्तरोन्नति गर्न ३४ करोड रुपैयाँ छुट्याएको छ । मुग्लिन–पोखरा सडक खण्डको ५० किलोमिटर सडक विस्तारका लागि ५ अर्ब ४२ करोड विनियोजन गरेको छ ।

यस्तै सरकारले आगामी आर्थिक वर्षमा गोरखामा सभाहल निर्माण, नवलपुरमा प्रशासनिक केन्द्रमा एकिकृत कार्यालय तथा सहरी पूर्वाधारको निर्माण कार्य सुरु गर्ने जनाएको छ । पोखरामा प्रदेश रंगशाला बनाउने, हाई अल्टिच्युट ट्रेनिङ सेन्टर पनि सरकारको योजनामा परेका छन् । तनहुँको ढकालटारमा बाल सुधार गृह निर्माण गरिनेछ । पोखरामा निर्माणधीन प्रादेशिक सरुवा रोग अस्पताल निर्माण सकेर सञ्चालनमा ल्याउने सरकारको योजना छ । नवलपुरको गैंडाकोटमा नजिकको सरकारी अस्पतालसँग सहकार्य गरी ट्रमा केयर सेन्टर स्थापना गर्ने पनि बताएको छ ।

यही वर्षदेखि नवलपुरको धौबादी र पर्वतको फलाम खानीको उत्खनन कार्य सुरु गर्ने बजेटमा लेखिएको छ । एक घर एक धाराको लक्ष्य प्राप्तिका लागि खानेपानी आयोजना तथा कार्यक्रम सञ्चालन गरिने कार्यक्रमले गण्डकी सरकारको ‘एक घर एक धारा’ कार्यक्रमलाई टेवा पुग्ने देखिएको छ । बागलुङ बजार लगायत देशभरका विभिन्न ५ सहरमा सहलगानी खानेपानी आयोजना सम्पन्न गर्न १ अर्ब २६ करोड विनियोजन भएको छ ।

कृषिका लागि गण्डकी प्रदेशमा ठाउँ र योजना नै तोकेर बजेट छुट्याइएको छैन । तर, माटो र पानीको दिगो स्रोत व्यवस्थापन गर्न गण्डकीको जलाधार क्षेत्रमा गल्छी र पोखरी संरक्षणका बजेट छुट्याएको छ । मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र विस्तार गर्ने पनि बजेटमा उल्लेख छ । 
 


Author

थप समाचार
x