गण्डकी

पोखराका अण्डरग्राउण्ड : ५ महिना बित्यो, छैन पार्किङको मेसो

धनबहादुर गुरुङ |
माघ १९, २०७९ बिहीबार १५:५ बजे

पोखरा । पोखरा महानगरले अण्डरग्राउण्ड पार्किङ खाली गर्ने काम सुरु गरेको ५ महिनाभन्दा बढी बित्यो तर, अहिलेसम्म पनि पूर्ण रुपमा पोखराका अण्डरग्राउण्डमा पार्किङ गर्न मिल्न सक्ने अवस्था छैन । केहीले पार्किङ सुरु गरेपनि केहीले अझै अटेर गरेका छन् । कुनैले अण्डर ग्राउण्ड खाली गरेका छन्, सिंढी भत्काएका छैनन्, भने केहीले खाली नै गरेका छैनन् ।  

यसले गर्दा पोखरा महानगरले माघ २३ देखि मुख्य बजार क्षेत्रमा पार्किङ गर्न नपाईने सूचना प्रभाव पार्ने देखिन्छ । त्यसैको तयारी स्वरुप महानगरको एउटा टिम मंगलबार अण्डरग्राउण्ड निरिक्षणमा निस्किएको थियो । निरिक्षणको टोलीले केही अण्डरग्राउण्डमा अझै पार्किङ गर्न मिल्ने स्थान भेटेन् । पटक पटक समय दिंदा पनि अटेर गरेकालाई एकपटक पुनः आग्रह गर्ने अझ अटेर गरे कारवाहीमा जाने उनीहरुको निचोड थियो । 


प्रक्रिया सुरु गरेको ५ महिना बितिसक्दा पनि भूमिगत पार्किङमा केही व्यवसायीले काम नगरेको पोखरा महानगरका प्रमुखको सचिवालय सदस्य लोकदर्शन कोइरालाले बताए । निरीक्षणका क्रममा केही घरका अण्डर ग्राउण्ड जस्तो भत्काएर छोडेको त्यस्तै भेटिएको उनको भनाइ छ । ‘हामीले २६ स्थानमा निरीक्षण ग¥यौं त्यसमा धेरैले पार्किङका लागि खाली गरेको भेट्यौं,’ उनले भने, ‘केहीले पार्किङ सुरु गरिसक्नुभएको छ । केहीले महानगरले नै काम गरिदिन्छ भनेर बसेकाले जस्तो भत्काएर छोडेको त्यस्तै अवस्थामा भेटियो ।’ 

पोखरा महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले निरीक्षण गर्दै पार्किङ व्यवस्थापनको काम गर्दै जाने बताए । अण्डर ग्राउण्डमा अटेरी गर्नेहरुलाई मौखिक जानकारी गराएर छाडेको बताए । त्यसपछि पनि अटेर गरे पत्राचार गरेर जानकारी गराउने त्यतिले पनि नभए कारवाही प्रक्रियामा जाने उनले सुनाए । 

उनीहरुलाई महानगरले पटक–पटक सयम दिएको थियो । भूमिगत पार्किङ खाली गर्न भदौ १३ गते पोखरा बजार क्षेत्रभित्रका घरहरुको अन्डरग्राउण्ड खाली गर्न आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो । चाडबाडको समय देखाउँदै ग्राहकहरुले खाली गर्न अटेर गरपछि दशैं तिहार सकेर कात्तिक १५ गते डोजर नै चलाएको थियो ।

उक्त दिन सुरुमा डोजर हानिएको आर के बिल्डिङको अण्डरग्राउण्डको सिंढी अझै उस्तै छ । जहाँ सवारी हिड्न असम्भव छ । यस्तै मेहन्द्रपुलमा रहेको गरिमा विकास बैंकको सटर पनि अझै सञ्चालनमा छ भने न्यूरोडमा रहेको एक भवनको तल बाईक स्कुटर चलाउन मिल्ने गरी सिंढी भत्काइए पनि गाडी गुडाउन मिल्ने अवस्था छैन । यसैगरी नयाँबजार क्षेत्रमा महानगरले पत्राचार गरिरहेको सचिवालय सदस्य कोइरालाले जानकारी दिए । 

कात्तिक १५ गते डोजर लगाएर भत्काउने समयमा पनि महानगरको टोली नयाँ बजार क्षेत्रमा पुगेको थिएन । त्यस क्षेत्रमा ठूला व्यवसाय सञ्चालक विशेष गरी अटो क्षेत्रको व्यवसाय सञ्चालनमा छ । सोही कारण नयाँ बजार क्षेत्रको अण्डर ग्राउण्डलाई पत्राचार मात्र गरेको भन्दै आलोचना भएको थियो । सूचना जारी भएको ५ महिनाभन्दा बढी समय हुँदा पनि सो क्षेत्रको अण्डर ग्राउण्डमा निर्वाध रुपमा व्यवसाय चलेकाले मिलेमतो हो की? भन्ने केहीको आंकलन छ । 

पोखरामा रहेका २ सय ५२ वटा भवनका अन्डरग्राउण्डमा सबैलाई एकै किसिमको नियम लाग्ने सचिवालय सदस्य कोइरालाले बताए । ‘त्यहाँको बतासकैमा हामी ५ पटकभन्दा बढी गइसक्यौं । हामी महेन्द्रपुलसम्म गयौं नयाँबजार जान भ्याएनौं,’ उनले भने, ‘हामी त्यो क्षेत्रमा जान्छौं । नयाँ बजारमा त्यति धेरै छैन । भएकालेहरुले ठूला ठूला मेसिन सार्न पर्ने भएकोले समय माग गरेपछि समय दिएका थियौं । सायद त्यहाँ पनि खाली भइसक्यो होला ।’

पोखराको बजार क्षेत्रमा अधिकांश नयाँ बनेका घरहरु अन्डरग्राउण्डसहित बनेका छन् । अन्डरग्राउण्ड पार्किङ बनाएमा भने सो तलाको राजश्वमा समेत घरधनीले छुट पाउँछन् । महानगरको प्रावधानमै रहेर कतिपय घरहरु बनेका छन् । उनीहरुले राजश्वमा छुट पनि लिएकै छन्, तर अधिकांशले अन्डरग्राउण्डलाई पार्किङका रुपमा प्रयोग गरेका थिएनन् । अब सबैले घरधनीहरुले अण्डरग्राउण्ड पार्किङ गर्ने कोइरालाले जानकारी दिए । 
 


Author

थप समाचार
x