गण्डकी

पोखराका बजार क्षेत्रमा पार्किङ निषेध

इकागज |
माघ १७, २०७९ मंगलबार १२:३६ बजे

पोखरा । पोखराको अन्य सडकभन्दा केही चाक्लो छ न्यूरोड क्षेत्रको सडकखण्ड । यो पोखराको मुख्यबजार क्षेत्रमा पनि पर्छ । सयौंको संख्यामा मानिसको आउजाउ चलिरहन्छ । उस्तै संख्यामा सवारी सडकमै पार्किङ गर्ने गरिएको छ । तर, अब सो सडकखण्डमा पार्किङ गर्न नपाइने भएको छ । 

पोखरा महानगरपालिकाले माघ २३ देखि उक्त सडकखण्डमा पार्किङ गर्न नपाउने निर्णय गरेको छ । बढ्दो सवारीसाधनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि पोखरा महानगरपालिकाले पार्किङ क्षेत्र तोकेर यसको व्यवस्थापन थालेको हो । माघ २३ देखि पृथ्वीचोक–सभागृह चोक–न्युरोड–बिपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोकको सडक वरिपरी पार्किङ गर्न पाईने छैन । 


पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मुख्य सहरी क्षेत्रको सडकखण्डमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो । त्यसका लागि महानगरले निश्चित क्षेत्रमा सशुल्क पार्किङ क्षेत्र तोकेको छ । 

पोखरा वडा ९ का अध्यक्ष दीपेन्द्र मर्सानीका अनुसार न्युरोड क्षेत्रमा ६ स्थान, नयाँबजार क्षेत्रमा २ स्थानमा सशुल्क पार्किङ क्षेत्र तोकिएको छ । जसमध्ये न्युरोडको पूर्णिमा फिल्म हल रहेको क्षेत्र, पद्म नर्सिङ हलभन्दा तलको खाली जग्गा, रिडर्स कर्नरको माथि र तलको खाली क्षेत्र, पोखरा सभागृह हल, नयाँबजारस्थित हार्डवेयर एसोसिएसन, पोखरा प्रदर्शनी केन्द्रलगायतका क्षेत्र तोकिएका छन् ।

सशुल्क तोकिएका ती क्षेत्रमा अबदेखि प्रतिघण्टा मोटरसाइकलको १०, ट्याक्सीको ३०, हलुका सवारीसाधनको ५०, मिनीको ७० र हेभीको १ सय रुपैयाँ तोकिएको छ । महानगरले गत ४ कात्तिकमा सूचना जारी गर्दै मुख्य बजार क्षेत्रको सडकसँग जोडिएको जग्गाधनीले पार्किङ प्रयोजनका लागि जग्गा भाडामा लगाउनका लागि आह्वान गरेको थियो । त्यसमा केही जग्गाधनी इच्छुक देखिएपछि महानगर अघि बढेको हो । अब जग्गाधनीले स्वयंले पार्किङ शुल्कबापतको रकम प्राप्त गर्नेछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले महानगरको पछिल्लो निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिए । उनले ठूलो ट्राफिक जनशक्ति सडकको पार्किङ व्यवस्थापनमै लाग्नुपर्दा चुनौती खेप्दै आएको उनको भनाइ छ । उनका अनुसार कास्कीमा २८ जनाको दरबन्दी रहेकोमा करिब १ सय जना ट्राफिक कार्यरत छन् । पोखराको महेन्द्रपुल, बिरौटा, पृथ्वीचोक, लेकसाइड क्षेत्रमा बढी सवारी गुड्ने गरेको उनी बताउँछन् । 
 


Author

थप समाचार
x