गण्डकी

गण्डकीमा अबको सरकार कसकाे ?

धनबहादुर गुरुङ |
मंसिर १९, २०७९ सोमबार १९:८ बजे

पोखरा- प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । भने, समानुपातिक पनि लगभग अन्तिम चरणमा छ । निर्वाचनको मतपरिणाम सकिँदै गर्दा गण्डकी प्रदेशमा सरकारको कसको बन्ला भन्ने सबैको चासोको विषय भएको छ ।

प्रत्यक्षतर्फ ३६ मध्ये गण्डकीमा नेपाली कांग्रेसले सबैभन्दा बढी १८ सिट जितेको छ । नेकपा एमालेले १२ सिट जित्दा नेकपा माओवादी केन्द्र ५ सिटमा खुम्चिएको छ भने १ सिट स्वतन्त्र सांसदले जितेका छन् । अघिल्लो चुनावमा एमालेले १७ सिट प्रत्यक्ष चुनाव जितेको थियो । माओवादीले ९ तथा कांग्रेसले ६, जनमोर्चाले २ र तत्कालीन नयाँ शक्तिले १ सिट जितेको थियो ।


यो पटक गण्डकीमा कांग्रेस अघि बढ्यो । भने, एमालेले घाटा व्यहोर्‍यो । ५ जिल्लामा एमाले ‘क्लिन स्वीप’ भएको छ । गोरखा, बागलुङ र म्याग्दीमा गठबन्धन सबैभन्दा बढी सफल देखियो । मनाङ र मुस्ताङमा समेत गठबन्धन साथले कांग्रेस उम्मेदवार विजयी भए ।

अघिल्लो चुनावमा प्रत्यक्षतर्फ ६ जिल्लामा कांग्रेस ‘निल’ भएको थियो । बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङ, लमजुङ र तनहुँमा कांग्रेसले प्रदेश सभाका कुनै पनि सिट प्रत्यक्षमा जितेको थिएन । यो चुनावको नतिजा २०७४ भन्दा ठ्याक्कै उल्टो भएको छ । समग्रमा गठबन्धनका कारण गण्डकीमा कांग्रेसले २०७४ को नतिजा उल्ट्याउँदै एमालेसँग बदला लिएको छ । 

गण्डकी प्रदेशमा समानुपातिकको पनि लगभग टुंगो लागिसकेको छ । समानुपातिकको २४ सिटमा एमालेले १०, कांग्रेसले ९, माओवादीले २ र राप्रपाले २ सिट प्राप्त गर्ने आंकडा छ । यसरी समानुपातिक तर्फको सिट बाँडफाँटमा तलमाथि नभए गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादीको ८, राप्रपाको २ र एक जना स्वतन्त्र सांसद हुने निश्चित छ । 

यस्तो अवस्थामा ८ सिटको माओवादी गण्डकी प्रदेशको सरकार बनाउन निर्णायक बन्नेछ । ६० सिट रहेको गण्डकीमा विश्वासको मत लिन ३१ मत आवश्यक पर्छ । बहुमतसहित गण्डकीमा सरकार बन्ने ३ विकल्प छन् । 

पहिलो विकल्पका रूपमा रहेको कांग्रेस–माओवादी गठबन्धनसँग ३५ सिट पुग्नेछ । दोस्रो विकल्प ठानिएको एमाले–माओवादी–राप्रपा गठबन्धनसँग ३२ सिट हुन्छ । तेस्रो विकल्प भनेका कांग्रेस र एमालेबीच सत्ता तालमेल हो । जहाँ कांग्रेसको २७ र एमालेको २२ जोड्दा ४९ पुग्छ । गण्डकीमा यी २ दल मिले प्रतिपक्षी निकै कमजोर हुनेछ र दुईतिहाइको सत्ता गठबन्धन बन्ने छ । 

कांग्रेस गठबन्धनबाट ४ मंसिरको चुनावमा अपेक्षाकृत परिणाम नआएको भन्दै केही नेता कार्यकर्ताहरूले माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गर्न सबै विकल्प खुला भएको बताउँदै आएका छन् । तर, माओवादी केन्द्र महासचिव देव गुरुङले भने चुनावमा रहेको यही गठबन्धन सरकारसम्म पुग्ने बताए ।

‘यही गठबन्धनले सरकार बनाउँछ । यही गठबन्धन गरेर निर्वाचित भएपछि फरक बाटोमा हिँड्नु हुँदैन,’ उनले भने, ‘तर एमालेसँग पनि सरकार गठन विषयमा वार्ता र संवाद हुन सक्छ ।’ उनै देव गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि निर्वाचित पृथ्वीसुब्बा गुरुङलाई शुभकामना दिँदै वामपन्थी एकताको पहल थाल्न आग्रह गरेका थिए । 

एमालेबाट मुख्यमन्त्रीका दाबेदार खगराज अधिकारीले सरकार गठन आफ्नो पार्टीको प्रमुख एजेन्डा नभएको बताए । ‘सरकारमा जाने–नजानेभन्दा पनि अहिले देशमा राजनीतिक स्थिरताको खाँचो छ । पहिला देशमा यो व्यवस्था दिगो होस् भन्ने पक्षमा एमाले छ,’ अधिकारीले भने । 


Author

थप समाचार
x