गण्डकी

गण्डकी प्रदेश सभामा अधिकांश 'नयाँ अनुहार'

धनबहादुर गुरुङ |
मंसिर १५, २०७९ बिहीबार १२:२१ बजे

पोखरा - गण्डकी प्रदेश सभामा ६० सिट छ । त्यसमध्ये प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सांसद चुनिन्छन् । प्रत्यक्ष तर्फको ३४ सिटको टुंगो लागिसकेको छ । स्याङ्जाको २ प्रदेश सभा र समानुपातिकको मतगणना चलिरहेको छ ।

३४ स्थानमा विजयी भएकाहरू अधिकांश नयाँ अनुहार छ । मतगणना चलिरहेको स्याङ्जा २(१) मा एमालेका पुराना सांसद मोहनप्रसाद रेग्मी प्रतिस्पर्धामा छन् । यी बाहेक २(२) ले पनि नयाँ सांसद पाउने पक्का छ । भने, सबै पार्टीबाट समानुपातिकको बन्द सूचीमा रहेका धेरै नामहरू पनि नयाँ नै छन् । सोही कारण अबको पाँच वर्ष गण्डकी प्रदेश सभामा नयाँ विधायकहरू देखिनेछन् । 


गण्डकी प्रदेश सभाको ३४ सिटको टुंगो लाग्दासम्म कांग्रेसले १६, एमालेले १२, माओवादीले ५, स्वतन्त्र १ सांसद छन् । यीमध्ये ३० जना नयाँ अनुहार हुन् । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ १७ सिट एमाले, ९ माओवादी, ६ कांग्रेस २ जनमोर्चासहित तत्कालीन नयाँशक्ति पार्टी र स्वतन्त्रले १/१ सिट जितेका थिए । 

तीमध्ये प्रत्यक्षबाट जितेका ९ सांसद दोहोरिन खोजेका थिए । यस्तै समानुपातिक तर्फबाट सांसद बनेकी मिना गुरुङ पनि दोस्रो कार्यकालका लागि चुनावी मैदानमा थिइन् । उनीहरूमध्ये कांग्रेसका बिन्दुकुमार थापा, माओवादीका हरिबहादुर चुमान, एमालेका रोशन गाहा मगर र स्वतन्त्र राजीव गुरुङ दोहोरिएका छन् ।

मनाङबाट स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ 'दीपक मनाङे' अहिले पनि स्वतन्त्र रूपमै दोहोरिएका छन् । उनको क्षेत्रमा उनीमात्र उम्मेदवार रहेकाले उनी निर्विरोध भएका थिए । माओवादीतर्फ तनहुँ १ (ख) का हरिबहादुर चुमान र कास्की १ (क) का दीपक कोइराला चुनावी मैदानमा थिए । मत परिणाम अनुसार माओवादीबाट चुमान तनहुँ १ (ख) बाट निर्वाचित भए भने कोइराला पछि परे । 

नेपाली कांग्रेसका विन्दुकुमार थापा पनि कास्की २ (ख) बाट दोहोरिएका छन् । नेकपा एमालेबाट तनहुँ १ (क) का रामबहादुर गुरुङ, कास्की ३ (ख) का राजीव पहारी, स्याङ्जा २ (क) का मोहन रेग्मी, नवलपुर १ (ख) का रोशन गाहा थापा र मुस्ताङ (क) का इन्द्र धारा विष्टले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका थिए । 

उनीहरूमध्ये रोशन गाहा निर्वाचित भएका छन् भने स्याङ्जा १(क) मा मतणना हुन सकेको छैन् । एमालेबाट दोहोरिन चाहनेहरू धेरै पराजित भएका हुन् । यसबाहेक केही पूर्व समानुपातिक सांसद मीना गुरुङले कास्की २ (ख) बाट उम्मेदवारी दिए पनि कांग्रेसका विन्दुकुमार थापासँग पराजय भोगिन् । उनीबाहेक राष्ट्रिय जनमोर्चाकी पियारी थापा यो पटक पनि समानुपातिकबाट दोहोरिने दाउमा छिन् ।

यो पटक सबैभन्दा बढी नेपाली कांग्रेसबाट नयाँ अनुहारले गण्डकी प्रदेश सभामा उपस्थिति जनाएका छन् । कांग्रेसका विन्दुकुमार थापाबाहेक निर्वाचित सबै नयाँ हुन् । कांग्रेसको समानुपातिक सूचीमा रहेका नाम पनि अघिल्लो पटक संसद नछिरेकाहरूको नै छ । एमालेबाट स्याङ्जाका मोहनप्रसाद रेग्मीको क्षेत्रमा मतगणना हुन सकेको छैन् । भने, निर्वाचित १२ मा रोशन गाहा मगरले दाहोर्‍याउने निश्चित भएको हो । एमालेको समानुपातिक सूचीमा पनि नयाँ अनुहार नै छ । यस्तै माओवादी केन्द्रबाट हरिबहादुर चुमान बाहेक सबै नयाँ छन् ।

प्रदेशमा निर्वाचित केही प्रतिनिधि र राष्ट्रिय सभामा अनुभव लिइसकेकाहरू पनि छन् । कास्की १ (क) बाट निर्वाचित खगराज अधिकारीसँग प्रतिनिधि सभा र केही दिन गृहमन्त्रीको अनुभव छ । गोरखा २ (ख) बाट विजयी भएका सुरेन्द्रराज पाण्डे राष्ट्रिय सभाका पूर्वसदस्य हुन् । उनीहरू बाहेक समानुपातिक सूचीमा रहेका केही नेताहरू पूर्व सांसद भइसकेकाहरू पनि छन् । 

यसबाहेक गण्डकीका केही पूर्व सांसद अहिले संघको समानुपातिक सूचीमा पनि परेका छन् । भने, नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा तर्फ लागे । कास्कीबा मनबहादुर गुरुङ पनि सांसद दोहोरिएका छन् । उनी पनि संघतर्फ लागेका हुन् । नेकपा एमालेका किरण गुरुङ र नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल जीवन प्रतिनिधि सभा जान खोजे पनि पराजित भए ।
 


Author

थप समाचार
x