गण्डकी

मन्त्रीको तलबभत्ता विकास निर्माण र सामाजिक कार्यमा

धनबहादुर गुरुङ |
असोज १३, २०७९ बिहिवार १९:१ बजे

पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पाँच वर्षसम्म प्राप्त रकम विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेका छन् ।प्रदेशसभा सदस्य र प्रदेशको मन्त्रीको हैसियतमा प्राप्त गरेको सेवा सुविधा सामाजिक सेवामा खर्च गरेको विवरण उनले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् । मासिक पारिश्रमिक, बैठकभत्ता र अन्य सुविधाबाट आफ्नो खातामा आएको ४० लाख ७१ हजार २ सय ४९ रुपैयाँ उनले आफूले उपयोग गरेनन् । उनले सोही अवधिमा व्यक्तिगत रकमसमेत थप गरी ५८ लाख २९ हजार ६६ रुपियाँ ५२ पैसा बराबरको विकास खर्च र सामाजिक कार्य गरेको जानकारी दिए । 

मन्त्री थापाको बैंक खातामा २०७४ सालमा निर्वाचित भएको पहिलो वर्षदेखि हालसम्म क्रमशः सात लाख नौ हजार १३५, छ लाख १० हजार ६३९, आठ लाख ५९ हजार ८६८, १३ लाख ६६ हजार ३६० र पाँच लाख २५ हजार २४७ रुपैयाँ जम्मा भएको विज्ञप्तिमा उल्लेख छ । 


बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधासमेतको हो । निर्वाचित भएदेखि हालसम्म विकास निर्माण र सामाजिक कार्यमा पहिलो वर्षदेखि क्रमशः १० लाख ५४ हजार ६५५, नौ लाख तीन हजार ७०१, १२ लाख ४७ हजार ४०, १४ लाख ८६ हजार ९७० र ११ लाख ३६ हजार ७०० खर्च गरेको जनाइएको छ ।

यसबाट विपन्न, गरिब र असाहयहरुको दुखमा साथ मिलेको उनको भनाई थियो । ‘यसबाट केहीले खुसी पाएका छन्,’ उनले भने, ‘केही स्थानहरुमा १/२ सय मिटर पाईपको कमीले खानेपानी पाएका थिएनन् त्यहाँ राहत मिलेको छ ।’ 

मन्त्री थापा २०७४ को निर्वाचनमा कास्की क्षेत्र नं. २ प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले वाम गठबन्धनका साझा उम्मेद्वार माओवादी कास्कीका इन्चार्जसमेत रहेका राजकाजी गुरुङलाई ८ सय २ मतान्तरले पराजित गरेका थिए । सो निर्वाचनमा थापाले १० हजार ७२६ मत पाउँदा गुरुङले ९ हजार ९२४ मत पाएका थिए ।

थापा २०७८ साउन ८ गते गण्डकी प्रदेशको मन्त्रीमा नियुक्त भएका हुन् । उनलाई गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

मन्त्री थापाको प्रदेशमै दोहोरिने चाहाना 

मन्त्री थापाले आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रदेशसभा मै दोहोरिने बताएका छन् । २०७४ मा कास्की कांग्रेसको साख जोगाएका मन्त्री थापाले आगामी निर्वाचन प्रदेशको अन्तिम निर्वाचन हुने संकेत गरेका छन् । 

३ वटा प्रतिनिधि र ६ वटा प्रदेशसभा रहेको कास्कीमा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचन जितेर उनले कास्की कांग्रेसको साख जोगाएका हुन् । अहिले पनि उनी सोही क्षेत्रबाट प्रदेशसभाको ढोका पुनः खोल्न चाहन्छन् । उनले सोही क्षेत्रबाट अन्तिम पटक निर्वाचन लडेर जनताका थप सेवा गर्ने रहर रहेको बताएका छन् । उनले भने, ‘विगतमा केही कमि–कमजोरी नभएका होइनन्, त्यसलाई शिक्षाकारुपमा लिएर प्रदेश सरकारलाई थप चुस्त–दुरुस्त बनाउन प्रयत्न गर्नेछु ।’ 

निकै प्रतिकूल अवस्थामा र बागी उम्मेद्वार रहँदा पनि आफूले २०७४ सालको निर्वाचन जतेको उल्लेख गर्दै आगामी निर्वाचन पनि निर्वाचन जितेरै छाड्ने अठोट गरे । उनले थपे, ‘पार्टीमा प्रदेशसभा सदस्य पदमा म र कुमार खड्काजीसहित ६ जनाको नाम सिफारिस भएको छ । पार्टीले जसलाई टिकट दिएपनि मेरो विमति हुँदैन । तर पार्टीले उचित मूल्यांकन पक्कै गर्नेछ ।’ 

उनले रोजेकै क्षेत्रबाट प्रदेशका भौतिक मन्त्री कुमार खड्काले पनि आकांक्षा व्यक्त गरेका छन् । खड्का २०७४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेर मन्त्री भएका हुन् । पार्टीले एउटै व्याक्तिलाई लगातार २ पटक समानुपातिक सांसद नबनाउने भनेपछि खड्का पनि सोही क्षेत्रबाट प्रत्यक्ष चुनाब लड्न चाहान्छन् । दुई मन्त्रीसँगै युवा नेता मदन बस्नेत पनि टिकटको दौडमा छन् । यी ती बाहेक अरु ४ जना पनि आफूलाई सो क्षेत्रको बलियो उम्मेद्वारको रुपमा उभिएका छन् । सोही कारण पनि टिकट वितरणमा कास्की क्षेत्र नम्बर २ (ख) गाह्रो देखिएको छ । 


Author

थप समाचार
x