गण्डकी

पोखरा महानगरले आफ्नै भवनको अण्डरग्राउण्ड हटायो, अब पार्किङका लागि प्रयोग गरिने

इकागज |
असोज १३, २०७९ बिहिवार ८:५५ बजे

फाइल तस्बिर

पोखरा- पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग सुरु गरेको छ । यसअघि अन्य प्रयोजनमा प्रयोग भइरहेको सिर्जनाचोकस्थित आफ्नो स्वामित्वमा रहेको भवनको अण्डग्राउण्ड खाली गरेर पार्किङका लागि खुला गरेको हो ।

पोखराले नगर क्षेत्रभित्र भूमिगत पार्किङ राख्ने सहमतिका साथ सहुलियत लिएकाहरुको भूमिगत तला खाली गर्ने अभियान थालेको छ ।


कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेको भेटिएको छ । त्यसका लागि महानगरले भदौ १३ गते पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद अझ केही दिन बाँकी छ । तर, व्यवसायीहरुले पार्किङ हटाएका छैनन् ।

मेयर धनराज आचार्यले सूचनाको म्याद सकिएपछि भूमिगत तला खाली गर्न आफै जाने बताए । ‘यो एउटा शुभारम्भ हो । पोखरामा जति पनि भूमिगत पार्किङ सहित निर्माण गरिएका घरहरू छन्, घर धनीहरूले यसलाई खाली गरेर पार्किङ कै लागी प्रयोग गर्नका लागि म अनुरोध गर्न चाहन्छु’ उनले भने, ‘सांकेतिक अभियान सबै नगरबासीले बुझिदिनुहोला ।’

पोखरा महानगरपालिकाभित्र २ सय ५० बढी भवनमा भूमिगत पार्किङ स्थलहरू छन् । तर ति पार्किङ स्थल व्यापार र अन्य प्रयोजनमा प्रयोग भैरहेको छ ।


Author

थप समाचार
x