गण्डकी

पोखरा महानगरकै भवनबाट सुरु भयो अण्डरग्राउण्ड पार्किङ

धनबहादुर गुरुङ |
असोज १२, २०७९ बुधबार २१:७ बजे

पोखरा- पोखरा महानगर ८ सिर्जनाचोकमा महानगरको स्वामित्वमा ३ तले भवन छ । त्यहाँको दोस्रो तल्लामा आफ्नो महाशाखा (सामाजिक विकास) सञ्चालन गरेको छ भने अरू सटर तथा तलाहरू भाडामा लगाएको छ । त्यो भवन भुईतला (अण्डर ग्राउण्ड) को अवधारणामा बनाइएको हो । महानगरले अण्डरग्राउण्डमा पार्किङ बनाउने योजना पहिले नै बनाएको हो । तर, महानगर आफ्नै स्वामित्वमा बनेको भवनको अण्डर ग्राउण्ड मै सबै क्षेत्रमा पार्किङ भएको थिएन ।

महानगरले गत भदौ १३ गते पोखरा बजार क्षेत्रभित्रका घरहरूको अण्डरग्राउण्ड खाली गर्न आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो । पोखरामा जनघनत्व र सवारी चापका कारण पार्किङ अभाव बढ्दै गएपछि अण्डरग्राउण्डलाई पार्किङ बनाउनका लागि सो तला खाली गर्न सूचना जारी गरेको हो । सूचना अनुसार नै महानगरले आफ्नै भवनको अण्डरग्राउण्ड नगर लगायो । त्यस भवनको अण्डरग्राउण्डमा सिलाईका मेसिनसँगै गोदामका सामानहरू राखिएको थियो । त्यहाँ आंशिक रूपमा मात्र २/३ वटा सवारी राख्ने गरिएको थियो ।


बुधबार पोखरा महानगरका मेयर धनराज आचार्यको उपस्थितिमा त्यहाँ रहेका सामान हटाएर पार्किङ बनाएको छ । महानगरले आफ्नै स्वामित्वमा रहेको भवनबाट अण्डरग्राउण्ड पार्किङ सुरु गरेर अरूलाई सन्देश दिएको हो । त्यस ठाउँमा मेयर आचार्यले आफ्नो निजी कार पार्किङ गरी सुरुवात गरेका हुन् ।

पहिले आंशिक रूपमा अण्डरग्राउण्डमा पार्किङ भए पनि अब पूरैमा पार्किङ गरिने मेयर आचार्यले जानकारी दिए । ‘पहिले यहाँ सिलाई मेसिन लगायत गोदामका सामान राखिने गरिएको रहेछ,’ उनले भने, ‘केही सवारी पार्किङ गरिने यस ठाउँमा आजबाट सबै क्षेत्रमा पार्किङ गरिन्छ ।’ महानगरले ३५ दिने सूचना जारी गरेको समय समाप्त हुन लागेकाले अरूलाई सन्देश दिन आफैँले यो कामको सुरुवात गरेको मेयर आचार्यले जानकारी दिए ।

महानगरपालिकाले भदौ १३ गते नै पोखरा बजार क्षेत्रभित्रका घरहरूको अण्डरग्राउण्ड खाली गर्न आग्रह गरेको थियो । पोखरामा जनघनत्व र सवारी चापका कारण पार्किङ अभाव बढ्दै गएपछि अण्डरग्राउण्डलाई पार्किङ बनाउनका लागि सो तला खाली गर्न सूचना जारी गरेको थियो ।

पोखराको बजार क्षेत्रमा घर बनाउँदा अण्डरग्राउण्ड पार्किङ अनिवार्य बनाउनुपर्ने प्रावधान रहेको छ । नत्र महानगरले नक्सा पास नै गरिदिँदैन । अण्डरग्राउण्ड पार्किङ बनाएमा भने सो तलाको पचास प्रतिशत राजश्वसमेत घरधनीले छुट पाउँछन् । महानगरको प्रावधानमै रहेर कतिपय घरहरू बनेका छन् । उनीहरूले राजश्वमा छुट पनि लिएकै छन्, तर अधिकांशले अण्डरग्राउण्डलाई पार्किङका रूपमा प्रयोग गरेका छैनन् ।

त्यसरी पार्किङ गर्नुपर्ने ठाउँमा मोटरसाइकल ग्यारेज, मोबाइल पसल, खाजाघर, दोहोरी साँझ, कपडा पसललगायतका व्यवसाय गरिएको छ । एकातिर पार्किङका लागि बनाइएको घरको अण्डरग्राउण्डलाई व्यवसाय गर्ने थलो र गोदाम बनाइरहँदा अर्कोतिर पार्किङको समस्या पोखरेलीले झेलिरहेका छन् । पोखराको मुख्य बजार क्षेत्र पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक लगायत स्थानमा सर्वसाधारणहरूका लागि अझै पनि पार्किङ कहाँ गर्ने भन्ने समस्या छ । 

पोखरामा करिब २५० घरधुरीले अण्डरग्राण्डमा पार्किङ बनाउने भनेर नक्सापास गराउँदै पचास प्रतिशत छुट लिएपनि व्यवहारमा उतारेका छैनन् । २५० मध्ये करीब ६० घरले मात्रै महानगरको मापदण्डमा रहेर अण्डरग्राउण्डलाई पार्किङका रूपमा गरेको पोखरा महानगरपालिकाका इञ्जिनियर सुरेन्द्र पौडेलले बताए ।

महानगरपालिकाले अटेर गरेर अण्डर​ग्राउण्ड खाली गरेर पार्किङ स्थल नबनाए महानगरको कानुन बमोजिम कारबाही गरिने जानकारी दिएको छ । ‘हामीले ३५ दिने सूचना जारी गरिसकेका छौं, केहीले खाली गरिसक्नुभएको छ । केहीमा ठूलो समस्या भएकाले २/३ दिनको समय माग्नुभएको छ,’ पोखराका मेयर धनराज आचार्यले भने, ‘३६ पुगेको दिनमा हामी अनुगमनमा निस्कन्छौं, त्योभन्दा अघि हामीले आफ्नै भवनबाट सुरु गरौं भनेर अघि बढेका हौं ।’ अब उक्त स्थानमा त्यस भवनमा व्यावसाय गर्ने र सर्वसाधारणले पार्किङ गर्न सक्ने मेयर आचार्य जानकारी दिए । 


Author

थप समाचार
x