गण्डकी

पोखरामा ट्होटेंको रौनक (फोटो फिचर)

धनबहादुर गुरुङ |
साउन ३१, २०७९ मगलवार २१:३५ बजे

पोखरा- पोखरामा गुरुङ समुदायले धुमधामका साथ ट्होटें पर्व मनाएका छन् । पोखराको मानव अधिकार चोकबाट मंगलबार परम्परागत भेषभूषामा नाचगान गर्दै नयाँ बजार तमु धींको केन्द्रीय कार्यालयमा पुगेर औपचारिक रूपमा गुरुङ जातिको ठूलो पर्वमध्येको एक ट्होटें पर्व मनाइएको हो ।

ट्होटें पर्वमा गुरुङ जातिले विभिन्न हातहतियार, बाजाहरू, झ्याली, चोपडी, सुलाची, चिम्टा लगायतका सामग्रीहरु प्रदर्शनसहित पर्व मनाएका हुन् । यो पर्व वर्षको २ पटक मनाइने गरिन्छ । चैत्र महिनाको अन्तिम मंगलबार र साउन महिनाको अन्तिम मंगलबार गरी दुई पटक उधौली र उभौलीको रूपमा यो पर्वलाई  मनाउने प्रचलन रहेको छ । गुरुङको मुख्य पर्व लोसार हो । ट्होटें पर्व पनि उत्तिकै पुरानो सांस्कृतिक पर्व हो ।


गुरुङको साझा संस्था तमु धीं नेपालको अगुवाइमा २०५२ सालदेखि पोखरामा ट्होटें मनाउँदै आइएको छ । पचासको दशकको सुरुवाती चरणमा पोखरामा यो पर्व मनाउँदा आफ्नो सांस्कृतिक पर्व जोगाउने लक्ष्य राखिएको थियो । गाउँमा मनाइने पर्व परम्परा जोगाउन सहरमा पनि मनाउन थालिएको तमु धींका अध्यक्ष हुमबहादुर तमुले जानकारी दिए ।

परापूर्व कालमा गाउँ घरमा खेतीपाती राम्रो होस, शत्रु नास होस भन्ने कामनासहित गाउँमा ट्होटे मनाउने गरिए तापनि हाल आफ्नो मौलिक भेषभूषा, भाषा संस्कृतिको संरक्षणका लागी ट्होटे पर्व मनाउँदै आएको पाइन्छ । तर अहिले शहरी क्षेत्रमा मनाइने पर्वमा भने सामाजिक कुसँस्कार, भ्रष्टाचार, बेथितिलाई नास गर्ने उद्देश्यसहित ट्होटें पर्व मनाइएको बताइन्छ । मंगलबारको र्‍यालीमा पोखरामा रहेका विभिन्न तमु समाजको उपस्थिती रहेको थियो । 

पोखरामा मनाइएको ट्होटेंमा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उपस्थिती थियो । र्‍याली पछिको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शोकबाट सुखद यात्रामा लाग्ने र भूतप्रेत हटाउने मात्र नभइ यस्ता पर्वले समाजबाट अन्धविश्वास, गरिबी र पछौटेपन पनि हटाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । ‘प्राचीन कालदेखि नै यहाँको माटो, ढुंगा, वन, जंगल, कृषि योग्य जमिनमात्र होइन, नेपाली संस्कृति र गुरुङ जातीको विषेश योगदान रहेको स्मरण गर्न चाहान्छु’, राष्ट्रपति भण्डारीले भनिन् । गुरुङ जातिको, भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व, भेषभूषाले नेपाली संस्कृतिलाई समृद्ध बनाउन ठूलो योगदान पुगेको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

र्‍याली​का क्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख नेत्रनाथ अधिकारी, कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा लगायतले ट्होटेंको शुभकामना दिएका थिए ।

 


Author

थप समाचार
x