गण्डकी

अकबरे खुर्सानीमा आत्मनिर्भर घाम्राङ

इकागज |
साउन ३१, २०७९ मगलवार ७:४९ बजे

लमजुङ- लमजुङको उत्तर पश्चिम क्षेत्रमा पर्ने क्व्होलासोंथर गाउँपालिका– ८ को घाम्राङ गाउँ अकबरे खुर्सानीका लागि आत्मनिर्भर छ । गमप्रसाद गुरुङका अनुसार उनी सानो हुँदा घाम्राङ गाउँमा खुर्सानी फल्दैन भन्ने मान्यता थियो र खुर्सानी कसैले लगाउँदैनथे ।

'गाउँका केहीले बजारबाट किनेर र केहीले मागेरै काम चलाइएको अवस्था थियो', उनले भने । पछिल्लो चार वर्षको बीचमा छिमेकी मपिङ गाउँ पनि त्यही अभ्यासमा छ । घाम्राङ गाउँमा ६५ घर परिवार बसोबास गर्दछन् भने मपिङमा ४० घरपरिवार बस्दै आएका गुरुङले बताए । उनका अनुुसार गाउँमा ‘मोही माग्नेलाई दिनु, खुर्सानी माग्नेलाई नदिनु’ भन्ने नारा र अभियान नै चलाइएको छ । अकबरे खुर्सानीमा गाउँलाई आत्म निर्भर बनाउने सपना गुरुङले चार वर्षअघि देखेका थिए । 


पहिलो वर्ष उनले आफ्नै बारीमा त्यसको परीक्षण शुरु गरेका  थिए । अहिले घाम्राङ गाउँका १० घरपरिवारले अकबरे खुर्सानीको व्यवसायिक उत्पादन थालेका छन् भने अन्य सबै घरले आफ्नो परिवारलाई पुग्ने गरी अकबरेको खेती गर्न थालेको गुरुङले बताए । 

चार प्रकारको अर्गानिक मल उत्पादन प्रविधिबारे गाउँलेलाई सिकाइएको अकबरे खुर्सानीका व्यवसायिक खेती गरिरहेका अर्का किसान कमलप्रसाद गुरुङले बताए । उनका अनुसार अहिले घाम्राङ र मपिङ गाउँमात्र हैन आसपासका चरागाउँ, पसगाउँ, मालिङ, भोजे गाउँमा पनि अकबरे खुर्सानीको व्यवसायिक उत्पादन हुन थालेको छ ।


Author

थप समाचार
x