गण्डकी

निर्वाचनमा उचित सम्मान नभए विचार गर्नुपर्छ : अध्यक्ष नेपाल

इकागज |
साउन २१, २०७९ शनिबार १९:२७ बजे

पोखरा- नेपाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उचित सम्मान भएन भने विचार गर्नुपर्ने बताएका छन् ।

शनिबार पोखरामा पत्रकारसँग भेटघाटको क्रममा उनले एक्लै चुनाव लड्ने अवस्था आउने भन्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । तर चित्तबुझ्दो सिट बाँडफाँट भए गठबन्धनबाटै चुनाव लड्ने उनको भनाइ थियो । उनले आफूहरूको माग कति सिट भन्‍ने विषयमा भने खुलाएनन् ।


आगामी निर्वाचनको लागि तयारीमा जुटेको भन्दै नेपालले कार्यकर्तालाई भने, ‘पार्टी संगठन बलियो बनाउनुस् । उम्मेदवार खडा गर्नुस् ।’ उनले गठबन्धनबाट चुनाव लड्दा कसलाई कति सिट भन्‍ने विषयमा छलफल भइरहेको बताए ।

यस्तै अध्यक्ष नेपालले एमसीसीको विषयमा पनि टिप्पणी गरेका थिए । व्याख्यात्मक टिप्पणी गर्न सकिने अवस्था रहँदा रहँदै पनि विरोधीले विरोधका लागि मात्रै विरोध गरेको जनाए । ‘एमालेले कुनै पनि बुँदा संशोधन नगरी पास गर्ने तयारीमा थियो,’ उनले थपे, ‘हामी देशको हितमा नरहँदा बुँदा सच्चाएर पास गर्ने भनेका थियौँ । सोही सहमति अनुसार एमसीसी पारित भएको हो ।’


Author

थप समाचार
x