गण्डकी

जहाँ पुल नबन्दा एउटा गाउँमा छोरीचेली दिन आनाकानी गर्थे...

इकागज |
साउन १९, २०७९ बिहिवार २०:४८ बजे

गोरखा-  ‘दरौँदी नदीमा पुल नबन्दासम्म घलाङमा छोरी नदिनु भन्‍ने उखान नै गर्थे । 'पुल छैन्, यत्रो दरौँदी तरेर कसरी जाने ? चेलीबेटी दिएर के गर्ने ? भन्थे,' गोनपा ३ नारेश्वर घर भई हाल सिरानचोक गाउँपालिका-५  जरेवर बस्‍ने गोबिन्द बिश्वकर्माले पुराना कुरा सुनाए । 

गेबिन्दको घर नारेश्वर भएता पनि उनको पाखा बारी वाहेक खेतीयोग्य जमिन दरौँदी नदी पारी जरेबर फाँटमा थियो । पुल नहुँदा बर्खामा खेती लगाउन जाँदा दरौँदी नदी तरेर जान निकै सास्ती हुने उनको अनुभव छ ।  


‘पुल नहुँदा बर्खामा खेतिपाती गर्न दरौँदी तरेर जानुपर्थाे । कहिले गोरु बगाउने, कहिले मान्छे बगाउने कम त दु:ख पाइएन,' उनी भन्छन् । 

२०४६ सालमा जरेवर र नारेश्वर जोड्ने झोलुङ्गे पुल बन्यो । झोलुङ्गे पुल बनेपछि भने विगतमा भन्दा केही सहज भयो । तर, आफ्नो खेत दरौँदी पारी नै भएकाले खेति गर्न जान आउजाउ गर्दा समस्या हुन थालेपछि गोबिन्द केही बर्षयता दरौँदी पारी नै घर बनाएर बस्‍न थालेका छन् । 

गेबिन्दले जस्तै समस्या भोगेर अहिले नारेश्वरका दर्जनौँ घर परिवार दरौँदी पारी बसाइँ सरेर बसिसकेका छन् । कारण, ‘मोटरवेल पुलको अभाव ।’

अहिले यहाँ स्थानीयहरुले नै माग गरेर गण्डकी प्रदेश सरकारको पाँच करोड ३९ लाख ८० हजार लागतमा मोटरवेल पुल निर्माण भइरहेको छ । यहाँ बनिरहेको पुलका लागि स्थानीयहरुको आग्रहमा तत्कालीन प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्‍नेतले बजेट विनियोजनका लागि पहल गरिदिएका थिए । 

‘हामी स्थानीयहरुले नै यहाँ पुल आवश्यक छ भनेर माग गरेपछि मन्त्री आएर ठाउँ हेरेर बजेट हालिदिएका हुन् । तर, अहिले स्थानीयहरुसँग सल्लाह नै नगरी बजेट हालेको भन्दै गलत प्रचार भइरहेको छ,' स्थानीय मधुकर अधिकारी ।

अहिले ‘वारी जंगल, पारी खेत, बीचमा पाँच करोडको मोटरवेल पुल’ भन्दै भाइरल भइरहेको यही पुल हो । जुन पुलको पर्खाइमा नारेश्वरका हजारौँ घरधुरीले वर्षाैँदेखि प्रतिक्षा गरिरहेका थिए भने गोरखाको निर्वाचन क्षेत्र नम्बर २ का आम नागरिकहरुले आशा गरिरहेका थिए । 

‘सडक नै नपुगेको ठाउँमा करोडौँको पुल बन्यो भनेर जसरी प्रचार भइरहेको छ, यो सरासर गलत हो । यहाँ वारीपारी दुबै तीर सडक पुगेको छ । यो पुल सम्पूर्ण नारेश्वरवासी र गोरखाको निर्वाचन क्षेत्र नम्बर २ का सबै जनताका लागि आवश्यक पनि हो,' स्थानीय सुशिल अधिकारी भन्छन् । 

दरौँदी नदीमाथि बनिरहेको पुल नजिकै नारेश्वर क्षेत्रमा दुई वर्ष अघि नै कच्ची सडक पुगेको थियो । सडक सन्जाल भए पनि पुल नहुँदा प्रयोगमा नआएको सडकमा बिरुवाहरु, झार पात उम्रिएर जंगल जस्तै देखिन्छ । जंगलको बीचमा, प्रयोगमा नआएको सडकमा बिरुवा, झारहरु उम्रनु स्वभाविकै हो । जरेवरतर्फ भने पुलको करिब डेढ सय मिटर नजिकै ग्राभेल गरिएको सडक आइपुगेको छ । 

दुवैतर्फ सडक आइपुगे पनि सडक पक्की पुल नहुँदा यहाँबाट सवारी आउजाउ गर्न सक्दैन । तर, दरौँदी नदी माथि पुल बनिसकेपछि नारेश्वर हुँदै गएको सडक मध्यपहाडी लोकमार्ग, बारपाक सडकसँग जरेवरमा जोडिनेछ । यो रुट हुँदै आउजाउ गर्दा दूरीका हिसाबले पनि छोटो र सस्तो पर्ने स्थानीयहरु बताउँछन् ।

‘अहिले हामी डेढ सय रूपैयाँ तिरेर गोरखा सदरमुकाम जान्छौँ भने यो पुल बन्यो भनेक ६०/७० रुपैयाँ तिरेर जानसक्छौँ । समयको हिसाबले पनि करिब एक घण्टाभन्दा बढी छिटो हुन्छ । बिरामीहरु परे, केही इमर्जेन्सी केस पर्याे भने केही मिनेट छिटो हुँदा पनि मान्छेको ज्यान जानबाट बच्छ,' स्थानीय शम्भु बस्‍नेत भन्छन् ।

सत्ता र शक्तिको आडमा ब्यक्तिगत फाइदाका लागि भन्दा जनताका माग र आवश्यकताका आधारमा बजेट बिनियोजन भएकाले पुल निर्माण सम्पन्न भएपछि थुप्रै जनसङ्ख्या लाभान्वित हुने सिरानचोक गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शित्तल पोखरेल बताउँछन् ।

‘पुलले पूर्णता पाइसकेपछि अजिरकोट, बारपाक सुलिकोट, सिरानचोक, धार्चे, चुमनुब्रीका र गोरखा नगरपालिका, पालुङटार नगरपालिका लगायतका जनताहरुलाई सेवा दिन्छ । सुबिधा पाउँछन्,,' वडाध्यक्ष पोखरेलले भने, ‘अर्काे दुई नम्बर क्षेत्र वाहेक नयाँ पुल र तुरतुरेको पुल भन्दा वाहेक अर्काे त्यही एउटा दरौँदी नदी माथि छेवेटारको पुल मात्रै हो र यो पुलले केही भवितव्य भइहालेको अवस्थामा एउटा ट्राफिक रुटको रुपमा पनि प्रयोग हुने भएकाले यो पुलको उपयोगिता छ ।’ 

दरौँदी नदी माथिको यो पुल ५० मिटर लामो हो । कार्यालयका अनुसार पुल निर्माण कार्य करिब ९३ प्रतिशत सकिएको छ । एचटिसी गोसाइँकुन्ड, आइएस निर्माण सेवा जेभीले ठेक्का पारेर यो पुल बनाएको हो । पुलको ठेक्का लगाउँदा नै पुलसँग जोड्न बाँकी सडक पनि निर्माण कम्पनीले गर्ने, नदी किनारमा ग्याबिन लगाउने लगायतको काम गर्ने गरी गरी कामको ठेक्का दिएको कार्यालयले जनाएको छ ।

‘पुलको काम सकिएको छैन । निर्माण कम्पनीले स्ट्रकचरको काम गरेर सडकको काम, ग्याबिनको काम गर्ने गरी काम सुरु गर्याे । काम बाँकी नै छ । ठेक्का लगाउँदा नै स्टेटमेन्टमा निर्माण कम्पनीले पुलसँग जोड्न बाँकी ६०० मिटर सडक पनि बनाउने भन्‍ने छ । काम छिट्टै सम्पन्न हुन्छ,' पूर्वाधार विकास कार्यालय गोरखाका सूचना अधिकारी इन्जिनियर अजय श्रेष्ठले भने । न्युज कारखाना


Author

थप समाचार
x