गण्डकी

कर असुलीमा कोरोना प्रभाव कायमै

धनबहादुर गुरुङ |
साउन ४, २०७९ बुधबार १४:२० बजे

पोखरा- विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसले विश्वको अर्थतन्त्र डामाडोल बनायो । व्यापार व्यवसाय बन्द भए । मानिसहरुको चहलपहल पनि घट्दै गयो । यसको प्रभाव नेपालमा पनि पर्‍यो । व्यापार व्यवसाय बन्द हुँदा कर असुलीमा कमी हुन पुग्याे ।

कोरोना कहरपछि मानिसहरु पुरानै दैनिकीमा फर्कंन थाले । अहिले हरेक क्षेत्रमा लकडाउनको जस्तो स्थिती छैन तरपनि नेपालको अर्थतन्त्र उति सारो उभो लाग्‍न सकेको छैन ।


आन्तरिक राजस्व कार्यालय कास्कीको तथ्यांक अनुसार पनि राजस्व संकलनमा गएको २ वर्षदेखि गिरावट आएको छ । आर्थिक वर्ष २०७८/०७९ मा आंकलन गरेको भन्दा कम राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्माले जानकारी दिए । गएको आर्थिक वर्षमा ५ अर्ब १० करोड राजस्व उठाउने लक्ष्य राखिएपनि ४ अर्ब ८८ करोड संकलन भएको हो । लक्ष्यभन्दा ४ प्रतिशत कम राजस्व संकलन हुनुमा कोरोना नै मुख्य कारक रहेको उनको आंकलन छ ।

आर्थिक वर्ष ०७७/७८ मा ४ अर्ब ८२ करोड कर असुली गर्ने लक्ष्य राखिएकामा ४ अर्ब ६७ करोड असुली भएको अधिकृत शर्माले जानकारी दिए । गएको आर्थिक वर्षमा ९७ प्रतिशत मात्र असुली सुनाउँदै आर्थिक वर्ष ०७६/७७ मा ७२ प्रतिशत असुली भएको जानकारी दिए । आर्थिक वर्ष ०७६/७७ मा ५ अर्ब ६१ करोड संकलनको लक्ष्य राखिएकामा ४ अर्ब ३ करोड रकम जम्मा भएको थियो ।

कोरोनाको समयमा स्थायी लेखा नम्बर लिनेको संख्या भने बढेको कर अधिकृत शर्माले बताए । कोरोनापछि नयाँ फर्म दर्ता गर्नेहरु बढेका हुन् । आर्थिक वर्ष २०७८/०७९ मा चार हजार नौ सय २० लक्ष्य नयाँ फर्म दर्ता गर्ने लक्ष्य राखिएकामा नौ हजार आठ सय चार जनाले स्थायी लेखा नम्बर (प्यान) लिएको उनले जानकारी दिए । प्यान लिनेको संख्या लक्ष्यको झण्डै दोब्बर अर्थात एक सय ९९ प्रतिशत प्रगती भएको हो । आर्थिक वर्ष २०७७/०७८ मा ७ हजार ५ सय दर्ता गर्ने लक्ष्य लिएकोमा १२ हजार २ सय ६० दर्ता भएका थिए । यो संख्या निर्धारित लक्ष्यभन्दा ६३ प्रतिशतले बढी हो । आर्थिक वर्ष ११ हजार ५ सय ८४ जनाले नयाँ स्थायी लेखा नम्बर लिएका थिए ।

आर्थिक वर्ष २०७८/७९ उठेको ४ अर्ब ८८ करोड मध्ये आयकरबाट ३ अर्ब ६० करोड राजस्व संकलन भएको हो । यो एक सय तीन प्रतिशत बढी रकम हो । आयकरमा आयकर, घर बहाल कर र व्याज कर पर्छन् । ती कर वापत आन्तरिक राजस्व कार्यालय पोखराले ३ अर्ब २४ करोड संकलन गर्ने लक्ष्य राखेको थियो । यस्तै मूल्य अभिवृद्धि करबाट एक अर्ब ३३ करोड, अन्त शुल्कबाट १८ करोड राजस्व जम्मा भएको आन्तरिक राजस्व कार्यालय पोखराले जनाएको छ । 

गएको वर्षहरुमा कोरोनाले कर असुलीमा गिरावट आएपनि यो वर्ष समयमै लक्ष्य भेट्ने उनको विश्वास छ । सरकारले ल्याएको बजार अनुगमन वर्ष कार्यक्रमले पनि कर संकलनमा टेवा पुग्‍ने उनले बताए । ‘अर्को वर्ष राजस्व अवश्य बढ्छ । सरकारले पनि आगामी आर्थिक वर्षलाई बजार अनुगमनको वर्षका रुपमा मनाउने घोषणा पनि गरेको छ,’ उनले भने, ‘हामीले पनि दर्ता नगरी व्यावसाय चलाउनेहरूलाई करको दायरा भित्र ल्याउने गरी अनुगमन गरिरहेका छौं ।’

सरकारले बजेटसँगै छुटको सुविधा ल्याएको उनले बताए । स्थायी लेखा नम्बर लिएर व्यावसाय नगरेका व्यवसायीहरुलाई पछिल्ला ३ वर्षको अडिट रिपोर्ट बुझाएमा बाँकी अघिल्ला वर्षहरूको छुट दिने सरकारको नीतिले पनि कर संकलन बढ्ने उनको आंकलन छ ।

करदाता संख्याको आधारमा नेपालकै सबैभन्दा ठूलो कार्यालय भएको र कोरोनाले गतिविधि चलायमान भएकाले पनि समयमै लक्ष्य भेट्न सकिने उनको भनाइ थियो । आन्तरिक राजस्व कार्यालय पोखराले कास्की र स्याङ्जा हेर्ने गर्छ । विगतमा गण्डकीका विभिन्न जिल्लाको राजस्व प्रदेश राजधानी पोखरामै हुने गरेकोमा अहिले स्याङ्जा, बागलुङ, तनहुँ र नवलपुरबाट समेत राजस्व संकलन सुविधा छ ।


Author

थप समाचार
x