गण्डकी

उच्च अदालत पोखरामा मुद्दाको संख्या बर्सेनि बढ्दो

धनबहादुर गुरुङ |
असार ३१, २०७९ शुक्रबार २१:१२ बजे

पोखरा- उच्च अदालत पोखरामा अनुमानभन्दा बढी मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा एक हजार चार सय ४२ मुद्दा दर्ता हुने अनुमान गरे पनि अदालतमा एक हजार चार सय ८४ मुद्दा दर्ता भएको हो ।

अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका ९ सय ३० सहित दुई हजार चार सय १४ मुद्दा रहेको उच्च अदालत पोखराका रजिष्ट्रार र श्रीलाल पौडेलले जानकारी दिए । तीमध्ये एक हजार छ सय चार मुद्दा फर्छ्यौट भएका छन् । यो आर्थिक वर्षको एक हजार एक सय ६८ मुद्दा आर्थिक वर्ष २०७९/०८० लाई सर्ने भएको उनले बताए ।


पछिल्ला समय बर्सेनि मुद्दाका चाङ बढिरहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ९ सय ७२ मुद्दा रहेका थिए । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ८ सय १४ मुद्दा थियो ।

अदालतमा न्यायाधीशको संख्या कम भएका कारण अदालतमा मुद्दाका संख्या बढ्नु र सोचेजस्तो मुद्दा फर्छ्यौट हुन नसकेको रजिष्टार पौडेलको भनाइ थियो । ‘सबैभन्दा बढी मुद्दा दर्ता भएको वर्ष अहिले नै हो,’ उनले भने, ‘मुद्दा जस्तो कुरामा यस्सो आँखा लगाएर मात्रै भएन् । अनि ७ जना न्यायाधीश हुनुपर्नेमा यहाँ ५ जना मात्र छौं यसले पनि मुद्दा फैसलामा ढिला भएको छ ।’

उच्च अदालतले आफ्ना मातहतका बाग्लुङ इजलास र ११ जिल्ला अदालतका प्रगति पनि सार्वजनिक गरेको छ । जसमा बाग्लुङ इजलासमा चार सय ७३ मुद्दा दर्ता भएकोमा तीन सय ६७ फर्छ्यौट भएको उनले जानकारी दिए । जिल्लामा सबैभन्दा बढि मनाङमा ९३.३३ प्रतिशत मुद्दा फैसला गरेको छ । मनाङमा १५ मुद्दा दर्ता भएकोमा १४ मुद्दाको टुंगो लागेको हो । यस्तै सबैभन्दा कम नवलपुर जिल्ला अदालतले ५२.३५ प्रतिशत मुद्दाको फैसला गरेको हो ।

अदालतले चालू आवमा ८४ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । यस्तै धरौटीबाट चार  करोड ७८ हजार रुपैयाँ संकलन गरेको थियो । ती मध्ये २ करोड ४४ लाख ५९ हजार रुपैयाँ फिर्ता गरिएको हो । ५७ लाख ९३ हजार रुपैयाँ सदरस्याहा भएर २ करोड ८९ लाख ९३ हजार रुपैयाँ जम्मा भएको अदालतले जनाएको छ । १० लाख ६३ हजार रुपैयाँ बेरुजु रहेको रजिष्ट्रार पौडेलले जनाए ।


Author

थप समाचार
x