गण्डकी

अब पोखरामै मुटुको उपचार हुने

इकागज |
असार ३१, २०७९ शुक्रबार १३:२० बजे

पोखरा- गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल पश्चिमान्चल अस्पतालमा मुटु रोग उपचारका लागि क्याथ ल्याब सन्चालनमा ल्याइएको छ । रोटरी इन्टरनेसनलको सहयोगमा मुटुरोग उपचार केन्द्र सन्चालनमा आएको हो ।

करिब सात करोड लगानीमा रोटरीले क्याथ ल्याब सन्चालनमा ल्याएपछि मुटुका बिरामीले पोखराबाटै उपचार पाउने भएका छन् । यसअघि महंगो शुल्क तिरेर काठमाडौं र भारतसम्म उपचारका लागि जानुपर्ने विरामीले अब पोखरामै उपचार पाउने भएका हुन् ।


केही समयअघि अस्पतालले पोखरामै मृगौलाको सफल प्रत्यारोपण पनि गरेको छ । योसँगै जटिल रोगका विरामीको उपचार अब पोखराबाटै हुने गरी उपकरण जडान गरिने स्वास्थ्यमन्त्री भवानी खापुङले बताए । क्याथ ल्याब हस्तान्तरणमा उनले मुटुको उपचारमा संघ सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए । ‘मुटु निकै संवेदनशील छ । सामान्य विरामी हुँदा पनि हेलिकोप्टर चढेर काठमाडौं जानुपर्ने अवस्था हिजोका दिनमा थियो,’ उनले भने, ‘अब पोखरामै उपचार हुन्छ । स्वास्थ्य सेवा केही सुलभ र सस्तो भएको छ । यो खुसीको कुरा हो ।’

पोखराका मेयर धनराज आचार्यले पनि दातृनिकायसँग मिलेर आफूहरूले पोखरामा गुणस्तरीय स्वास्थ्य सेवाको हब बनाउने बताए । ‘दातृ संस्था र सामाजिक संघ स्थाको ठूलो भूमिका हुन्छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान संघ सरकारको मातहत छ । तर सेवा दिने हाम्रै हो,’ उनले भने, ‘हामी यसलाई स्वास्थ्यको हवका रूपमा विकास गर्न चाहन्छौं । संघ सरकारले र प्रदेश सरकारले पनि सहयोग गरोस् ।’

रोटरी इन्टरनेसनलका अध्यक्ष शेखर मेहताले पोखराको सरकारी अस्पतालमा क्याथ ल्याब स्थापना गर्दा खुसी लागेको बताए । यसअघि पनि रोटरीले अस्पतालमा ह्वील चियर, उपकरण, औषधिलगायत करोडौंको सहयोग वर्षेनी गर्दै आएको छ । अब आँखा अस्पताल निर्माणका लागि आफूहरू जुटेको मेहताको भनाइ छ । उक्त क्याथ ल्याब प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो ।


Author

थप समाचार
x