गण्डकी

बजेट प्रस्तुत भएको १९ दिनपछि गण्डकीको बजेटमाथि छलफल हुँदै

धनबहादुर गुरुङ |
असार १९, २०७९ आइतवार २०:४४ बजे

पोखरा- सांसद विकास कोषको बजेट काटिएपछि अन्योलमा परेको गण्डकी प्रदेशको बजेटमाथिको छलफल १९ दिनपछि सोमबार (भोलि) दिउँसो १ बजेदेखि हुने भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेटमा मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीले राख्‍न चाहेको उक्त कार्यक्रम अर्थमन्त्री रामजी बरालले काटिदिएपछि असार ५ गतेलाई डाँकिएको संसद् बैठक रातारात स्थगित भएको थियो । सांसद विकास कोष कार्यक्रम बजेटमा समेट्ने र अन्य केही सहमतिपछि बजेटमाथिको छलफल हुने भएको हो ।


निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा थप्‍ने र मन्त्रालयको सिलिङभित्रको योजना नै काटिएको विषयमा क्रस चेक गर्ने, थपघट गर्नुपरे अर्थ विविध शीर्षकबाट गर्ने र संसदमा छलफल पनि चलाउने सहमति भएको स्रोतको भनाइ छ । छलफलपछि कार्यक्रम सच्याएर रातो किताब निकाल्ने सहमति भएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

गत १ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गरेका थिए । 

बजेट भाषण पश्चात २ गते बजेट उपर छलफल गर्ने भनिए पनि १८ दिन बितिसक्दा समेत मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरू र अर्थमन्त्री रामजी बरालबीच तालमेल नमिल्दा बजेटमाथि छलफल हुन सकेको थिएन।


Author

थप समाचार
x