गण्डकी

पोखरामा ४० वर्षमाथिका सबैलाई नि:शुल्क स्वास्थ्य परीक्षण

इकागज |
असार ८, २०७९ बुधवार १५:४० बजे

फाइल तस्वीर

पोखरा - पोखरा महानगरले ४० वर्षमाथिका सबै नागरिकलाई निशुल्क स्वास्थ्य परीक्षण गराउने नीति लिएका छ । आगामी वर्षको नीति तथा कार्यक्रममा पोखरा महानगरपालिकाले स्वास्थ्य संस्थामा हुने मृत्युको डेथ अडिटको व्यवस्था गर्ने, हरेक वर्ष महानगर पिता र महानगर माता घोषणा गरी सम्मान गर्ने कार्यक्रम बनाइएको छ।

आगामी वर्षको नीति तथा कार्यक्रममा दीगो र पर्यावरणमैत्री विकास र सामाजिक न्याय एवं सुशासन र प्रविधिलाई जोड दिइएको छ । ५ वर्षभित्र पोखरालाई कम्तिमा दूध, तरकारी र माछा मासुमा आत्मनिर्भर बनाउने कार्यक्रम ल्याइएको छ ।


पशु उत्पादन बढाएर पशु हाटबजारमार्फत बेच्ने वातावरण निर्माण गर्ने मेयर धनराज आचार्यले बताए । महानगरमा रहेका बेरोजगारलाई रोजगारी प्रदान गर्न महानगर विशेष स्वरोजगार कार्यक्रम सन्चालन गर्ने, महानगरका विकासलाई रोजगारीसँग जोड्ने उनले बताए । हरेक वर्षको पहिलो ६ महिनामा तीन हजार रोजगारी थप गर्ने योजनासहित प्लस टू सकेका विद्यार्थीलाई होटल म्यानेजमेण्ट लगायत विभिन्न तालिम दिने महानगरले जनाएको छ ।

महानगरका ३३ वटै वडामा कम्तिमा एउटा सहकारी, एक उत्पादन कार्यक्रम सन्चालन गर्ने नीति छ । पोखराको जेठोबुढो चामललाई ब्राण्डिङ गरेर बजार प्रवर्द्धन गर्ने, पोखरामा लगानी सम्मेलन आयोजना गर्ने जनाएको छ ।

पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउनेदेखि प्याराग्लाइडिङको वैकल्पिक सन्चालनका लागि पहल गर्ने तथा हिमागृह र रत्नमन्दिरलाई व्यवसायिक हिसावले खुला गर्ने महानगरको नीति छ ।

नगरभित्र व्यवस्थित क्रिकेट खेलमैदान र गल्फकोर्ष निर्माणको सम्भाव्यता अध्ययन गर्ने, आउँदो वर्ष कम्तिमा चारवटा खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने कार्यक्रम छ । चार वर्षभित्रमा सुविधासम्पन्न मेट्रो अस्पताल निर्माण र सन्चालन गर्ने कार्यक्रम पनि पोखराले समेटेको छ ।

विपन्न र न्यून आए भएकालाई जन्मेको दुई वर्षसम्म पोषणभत्ता उपलब्ध गराउने, विवाह र मृत्युदर्तावापत प्रोत्साहन भत्ता दिने कार्यक्रम छ । जन्मदर्ता गर्दा ६ महिनासम्म न्यून आय भएका सुत्केरी महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यक्रम समेत समावेश गरिएको छ ।

कोत्रेदेखि विरौटासम्मको सडकलाई मध्यपहाडी लोकमार्ग र सिद्धार्थ राजमार्गको वाइपास तथा पृथ्वी राजमार्गको बैकल्पिक मार्गको रुपमा निर्माण गर्न लागिएको छ । पोखराका प्रमुख चोक, पेट्रोल पम्पहरुमा विद्युतीय चार्जिङ स्टेसन बनाउने, दुई वर्षभित्रमा टेलिफोन र अन्य तार हटाएर भूमिगत रुपमा अप्टिकल फाइवर जडान गर्ने, विजुलीका तार भूमिगत गर्ने नीति ल्याएको छ । आगामी वर्षभित्र पृथ्वीचोकमा अण्डरपास र फ्लाई ओभरको सम्भाब्यता अध्ययन गर्ने बताइएको छ ।


Author

थप समाचार
x