गण्डकी

गण्डकीको कर्मकाण्डी बजेटले खुसी छैनन् निजी क्षेत्र

धनबहादुर गुरुङ |
असार २, २०७९ बिहिवार १६:१० बजे

फाइल फोटो

पोखरा - गण्डकी प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक ग-यो । जसमा पुँजीगत ६२ प्रतिशत, चालूतर्फ ३६ र वित्तीय व्यवस्थामा १ प्रतिशत बजेट विनियोजन गरिएको हो ।

पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख र चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख छुट्याइएको छ । अधिकांश संघ सरकारको अनुदानमा आधारित बजेटमा ५ अर्बमात्रै प्रदेशको आन्तरिक स्रोत छ । चालु आवको लागि सरकारले ३० अर्बको बजेट ल्याएकोमा अहिले ६ अर्ब बढीको बजेट आएको हो ।


प्रदेश सरकारले कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधारलाई बढी प्राथमिकता दिएको छ । सडक र पुलको पूर्वाधारका लागि एकमुष्ट १० अर्ब विनियोजन गरेको छ । यसबाट आगामी वर्षमा २ सय ६ किलोमिटर सडक कालोपत्रे गर्ने, २० वटा सडक पुल र १५ वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य सरकारको छ । 

अधिकांश पुरानै कार्यक्रम ल्याएको र बजेटले प्राथमिकता छुट्याउन नसकेको पूर्व अर्थमन्त्री तथा प्रतिपक्षी सांसद किरण गुरुङको आरोप छ । ‘एक निर्वाचन क्षेत्र, एक कृषि सडक’ नयाँ देखिएपनि यो कार्यक्रम यसभन्दा अघि नै केन्द्रीकृत शासन प्रणालीमा सञ्चालनमा आएको तर त्यो सफल हुन नसकेको उनको भनाई थियो ।

‘सरसर्ती हेर्दा नयाँ कुरा केही पनि देखिंदैन । जुन बजेट विनियोजन भएको छ, पर्याप्त छैन । यो लक्ष्य र गन्तव्यहीन छ,’ उनले भने, ‘नीति तथा कार्यक्रममा पनि कुनै प्राथमिकता थिएन । अहिलेको बजेटले पनि के मा फोकस गरेको भन्ने ट्याक्कै भन्न सकिँदैन ।’ 

उनले राजस्व संकलनतर्फ सरकारको स्पष्ट नीति नभएको टिप्पणी गरे । ‘राजस्व केन्द्रित छैन । कानुन बनाउन बाँकी छ । स्पष्ट कानुनी आधार नभएकोले सुरुका वर्षमा लक्ष्य राखे पनि राजस्व उठाउन सकेका थिएनौं,’ उनले भने, ‘यातायात क्षेत्रलाई दायरामा ल्याउने भनिएको छ तर क्लियर कुरा छैन । कानुन खै ? अहिले पनि अनुमानित रकम उठ्न सम्भव छैन, त्यो आधार देख्दिनँ ।’

अहिलेको बजेटबाट नीजि क्षेत्रका उद्योगी व्यवसायी पनि खुसी छैनन् । पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले गण्डकी प्रदेश सरकारको नयाँ बजेटले निजी क्षेत्रलाई निरुत्साहित बनाएको बताएका छन् । सरकारले निजी क्षेत्रबाट अपेक्षा धेरै गरेतापनि बजेटमा निजी क्षेत्रलाई माथि उठाउने गरी बजेटमा खासै केही नआएको उनले दुःखेसो पोखे । 

उनले भने, ‘कर प्रणाली, नवीकरण, बैंकका ब्याजलगायतका विषयहरु हामीलाई आवश्यक छ । जसको स्पष्ट उल्लेख गरिएको छैन ।’ गण्डकी सरकारले ट्रेकिङ र टुर्स एण्ड ट्राभलिङ क्षेत्रमा मात्र नवीकरणमा छुट दिने भनेर उल्लेख गरेको र अरु व्यवसायलाई उपेक्षा गर्न खोजेको जस्तो देखिएको पोखरेलको तर्क छ ।

पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष यमप्रसाद पौडेलले यो आर्थिक वर्षको बजेटले नीजि क्षेत्रलाई उपहास गरेको आरोप लगाए । ‘नीजि क्षेत्रलाई कोभिडले धेरै असर ग¥यो यसका बारेमा अर्थमन्त्रीले छुँदै छुनुभएन,’ उनले भने, ‘उहाँले ३ सय जनालाई रोजगार दिने गरी उद्योग स्थापनाका लागि मात्र कुरा गर्नुभएको छ, यो भनेको केही पनि होइन् ।’ आफूहरुले बजेट मार्फत उद्योग स्थापनासँगै राहत र रोजगारी सिर्जनाको अपेक्षा गरेपनि कर्मकाण्डीका रुपमा विगतका विषयलाई निरन्तरता दिएर बजेट ल्याएको बताए । 

प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले अहिलेको बजेट जनतामैत्री भएको बताउँछन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बरालले आफूहरुले विगतका सरकारले गरेका कामहरूलाई निरन्तरता दिंदै कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा जोड दिएको उनले बताए । 

सरकारकै मन्त्रीको भद्र अवज्ञाका विषयमा बोल्दै उनले मन्त्रिपरिषद्ले स्वीकृत गरेरै बजेट आएको जनाए । विपक्षी दलले जति नै राम्रो बजेट ल्याएपनि खोट लाउने परम्परा रहेको उनको भनाइ थियो । 


Author

थप समाचार
x