बागमती

हेटौंडाको बासुदेव सभा गृहमा उपमहानगरले बहुउद्देश्यीय भवन निर्माण गर्ने

सुसन लामिछाने |
जेठ ३१, २०७८ सोमवार १२:४ बजे

हेटौंडाः शाही कालमा हेटौंडामा एक सभा गृह बन्यो । तर, त्यो सभा गृहको निर्माण पूरा हुनै सकेन । हेटौंडाको हुप्राचौरम बनेको त्यो सभागृहलाई दिपेन्द्र सभा गृह पनि भनिन्थ्यो । तर पछि ६२/६३ जनआन्दोलनका क्रममा सहिद भएका मकवानपुरका बासुदेव घिमिरेको नाममा  ‘बासुदेव सभा’ गृह नामाकरण भयो । एक दशक लामो समयदेखि बासुदेव सभा गृह भग्नावशेष अवस्थामा छ । करिब १० कट्ठा क्षेत्रफल सभागृह वरपर छ । हेटौंडाको खुल्ला मैदान हुप्राचौरलाई मासेर सभा गृह निर्माण भएको थियो । 

सुविधा सम्पन्न सभा हल निर्माण गरिए पनि सभा हलको मापदण्ड पूरा हुन सकेन । भवन अलपत्र पर्‍यो । त्यसो त बासुदेव सभा गृह संचालनमा आउनै सकेन । हेटौंडा–४ का स्थानीय प्रताप विष्टले भवन निर्माण कार्य पूरा नभएका कारण संचालन आउन नसकेको बताए । सभा गृह प्रयोगविहीन हुँदा कुनै पनि कार्यक्रम सञ्चलान हुन नसकेको हेटौंडा–४ का वडासदस्य राजेन्द्र कुमार बस्ताकोटीले बताए ।  


बासुदेव सभा गृहमा राजा विरेन्द्रको शालिक छ । जुन भग्नावशेष अवस्थामा भए पनि राप्रपा मकवानपुरले केही रंगरोगन गरेको छ । दशकभन्दा अघिदेखि भवनको कुनै उपयोग नै हुन सकेन । अहिले भवन लागूऔषध प्रयोगकर्ताहरूको अखडा बनेको छ । हेटौंडा उपमहानगरले बासुदेव सभा गृहको संरचनालाई भत्काएर बहुउद्देश्यीय भवन निर्माण गर्ने भएको छ । हेटौंडा उपमहानगरले नगरको गौरवको आयोजनाको रूपमा बहुउद्देश्यीय भवनलाई लिएको छ ।

हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले नगरको आफ्नै आयस्रोत वृद्धि गर्न बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको जानकारी दिए । यसअघि सोही ठाउँमा भ्यू टावर निर्माण गर्न बागमती प्रदेश सरकारले आव ०७५/०७६ मा १ करोड बजेट समेत विनियोजन गरेको थियो । तर भ्यूटावर बनेन । 

फेरि यो पटक हेटौंडा उपमहानगरले बासुदेव सभागृहको संरचना भत्काएर बहुउद्देश्यीय भवनको कल्पना गरेको छ । नगरले बनाउने सिटी भ्यू टावरसहित बन्ने भवनमा होटल, बैंकलगायत अन्य व्यवसायिक सटरहरू हुनेछ । अन्डर ग्राउन्ड पार्किङको व्यवस्थापन गर्ने योजना रहेको मेयर महतले बताए । उनका अनुसार नगरले सिटी भ्यू टावरको डिपिआर सम्पन्न गरिसकेको छ । यही हप्तामा करिब ९६ करोडको लागतमा बन्ने बहुउद्देश्यीय भवनको टेन्डर आह्वान हुने मेयर महतले बताए । बहुवर्षको रूपमा सभागृहलाई भत्काएर निर्माण गर्न समय लाग्ने र एक अर्बभन्दा बढी खर्च लाग्ने उनको भनाइ छ । 

उनले आफ्नो कार्यकालमा यो आयोजनाको सुरुवात गर्ने बताएका हुन् । सधै बजेटमा संघको भर पर्न नहुने भन्दै हेटौंडा उपमहागनरले राजश्वको आम्दानी बढाउन बहुउद्देश्ययी भवनको निर्माण सुरु गर्न लागेको मेयर महतले बताए ।


Author

थप समाचार
x