बागमती

कोभिडले सौराहको पर्यटन व्यवसाय ठप्प

सुसन लामिछाने |
जेठ २६, २०७८ ६:५२ बजे

चितवनः चितवनको सौराहा नेपालको काठमाडौं, पोखरा पछि तेस्रो नम्बरमा आउने पर्यटकीय गन्तव्य हो । आन्तरिक तथा बाह्य पर्यटकहरु काठमाडौं, पोखरा घुम्दै चितवनको सौराहा सम्म आइपुग्छन् । चितवनमा आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याउने धेरै चिजहरु पाइन्छ । चितवनको एक सिंगै गैडा, हात्ति, थारु कल्चर, जंगली जनावर, जंगल वार्क, हात्ति सवारी, जिप सफारी जस्ता पर्यटकलाई आकर्षित गर्ने एडभेन्चरहरु थुप्रै छन् । 

तर कोभिड–१९ को दोस्रो लहरले उठ्दै गरेको सौराहाको पर्यटन व्यवसाय फेरि ठप्प भएको छ ।  कोभिडको पहिलो लहरमा पनि सौराहाको पर्यटन व्यवसाय शुन्य बनेको थियो । अहिले पनि सौराहाको अवस्था त्यस्तै छ । कोभिडका पहिलो लहरका कारण बाह्य पर्यटकहरु सौराहामा खासै भित्रन पाएनन् । ‘आन्तरिक पर्यटकहरुले गर्दा सौराहाको पर्यटन व्यवसायले लय समाउँदै थियो फेरि ठप्प हुन पुग्यो’, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईल भन्छन्, ‘बाह्य पर्यटकको चहलपहल नभएको त एक वर्ष बितीसक्यो ।’ 


कोभिडको समयमा लामो समय बन्द भएर पनि सौराहामा आन्तरिक पर्यटकहरुको आकर्षण भने राम्रो थियो । साना तथा ठुला पर्यटकीय होटलहरु राम्रो सँगै चलेको भट्टराईले बताए । सौराहामा मुख्य आकर्षण भनेको होटल नै हो । सौराहामा साना ठुला गरी १ सय ५० भन्दा बढी होटलहरु संचालनमा छन् ।

अहिले होटलहरुले निश्चित कर्मचारीलाई मात्रै काममा राखेको छ । अधिकांशलाई बिदामा राखेको उनले बताए । यो जेठसम्म मासिक तलब दिएपनि अर्को महिनाबाट होटलमा कार्यरत कर्मचारीलाई बेतलबी बिदामा राख्नुपर्ने अवस्था आएको उनले बताए ।

सरकारले पर्यटन व्यवसायमा ध्यान नदिए धेरै व्यवसायीहरु मारमा पर्नेछन् । ‘घुमौ सौराहा’ नामक कार्यक्रम होटल संघले दुई वर्षदेखि प्रचार गर्दै आएको छ । कोभिडको दोस्रो लहरपछि पर्यटन क्षेत्र फेरि चलायमान बनाउन यही कार्यक्रमलाई प्रचार गरेर आन्तरिक पर्यटकलाई आकर्षित गर्ने योजना उनको छ । उनले बागमती सरकारलाई पनि पर्यटन व्यवसायको लागि आगामी वर्षको लागि बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सौराहाका विभिन्न होटलहरुमा करिब ५ हजार जनाले रोजगारी पाएका थिए । अहिले उनीहरु मध्ये सिमित मात्रै होटलमा कार्यरत छन् भने अन्य घरमै बस्नुपर्ने बाध्यता छ । 

सौराहामा १० वर्षदेखि होटल संचालन गर्दै आएका होटल जंगल जर्निका संचालक सुनिता लामिछानेले कोभिडले व्यवसायमा ठुलो धक्का पुगेको बताइन् । उनले पर्यटकहरु नहुँदा होटलको आम्दानी नभएको भन्दै  बैंकको किस्ता तिर्न समस्या पर्ने बताइन् । सरकारले निषेधाज्ञाको समयमा ऋणको ब्याज मिनाह गरिदिए पनि पर्यटन व्यवसायीलाई राहत पुग्ने उनको भनाई थियो । सौराहामा होटल संचालकको समस्या उनीजस्तै अन्यको पनि उस्तै देखिन्छ । भ्रमण वर्ष २०२० लक्षित गरेर बैंकबाट ऋण लिएर उनीहरुले पर्यटनका पूर्वाधारहरु निर्माण गरेका थिए । 

निजी हात्ती पाल्नै मुस्किल

पर्यटकहरु आउन बन्द भएपछि सौराहाको हात्ती व्यवसायी पनि मारमा परेका छन् । एउटा हात्ति पाल्न मासिक १ लाख रुपैयाँ खर्च हुन्छ । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसार हात्तिलाई दैनिक दश किलो धान, घाँस, बाँस, पराल खुवाउँदै आएको छ । 

दैनिक २ सय ५० किलो खाना हात्तिलाई दिनुपर्छ । ‘होटल, रिसोर्ट चल्दा बसेका पर्यटकहरुले हात्ति सफारीको पनि मनोरञ्जन लिने गरेका थिए । अहिले त्यो पनि बन्द छ’ उनले भने । सहकारीले अहिले ५५ हात्तिहरु पाल्दै आएका छ । 

निषेधाज्ञा अघि नेपाली पर्यटकलाई १२ सय ५० रुपैयाँ र विदेशी पर्यटकलाई २२५० रुपैयाँमा २ घण्टा हात्तिले जंगल सफारी गरथ्यो । कोभिडको दोस्रो लहरको असर पर्यटक सौराहामा नआउनु मात्र हैन त्यसको असर हात्तिको संख्या घट्नुमा पनि छ । सौराहामा पर्यटन व्यवसाय शून्य रहे हात्तिको संख्या पनि घट्दै जाने देखिएको छ । सौराहाका हात्तिहरु भारत जाने गरेका छन् । उता पु¥याइएका हात्तीलाई नेपाल ल्याइदैन । 



Author

थप समाचार
ad
x