बागमती

संघीय सरकारका स्वास्थ्य मन्त्री हेटौंडा अस्पतालमा

गरिब परिवारका लागि १० प्रतिशत शय्या नि:शुल्क गर्न निर्देशन

इकागज |
जेठ २५, २०८० बिहिवार २०:६ बजे

मकवानपुर- संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छड्के अनुगमन गरेका छन् ।

मन्त्री बस्नेतले अस्पताल निरीक्षण गर्ने भएपछि प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी पनि हतार हतार सहभागी भए । अस्पतालमा बेथिति बढेको बारे सामाजिक सञ्जालहरूमा टीकाटिप्पणी भइरहँदा समेत बेखबर झै बसेका प्रदेश मन्त्री जोशी बस्नेसँग भने अनुगमनमा सहभागी भए ।


गरिब परिवारका लागि १० प्रतिशत शय्या नि:शुल्क रुपमा प्रयोग गर्ने वातावरण तयार गर्न पनि मन्त्री बस्नेतले निर्देशन दिएका छन् ।

संघ र प्रदेशका दुवै जना मन्त्रीहरूले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालको अनुगमन गरेपछि सकारात्मक निर्देशन प्राप्त भएको बताइएको छ । अस्पतालको आकस्मिक कक्ष, ओपीडी कक्ष, भर्ना भएका बिरामी​हरूको अवस्था, अस्पतालको फार्मेसीलगायतका स्थानको दुवै जना मन्त्रीहरूले अनुगमन गरेका थिए ।

हेटौंडा अस्पतालमा परेको समस्या र आम सर्वसाधारणहरूलाई उपचारमा परेको समस्याका विषयमा दुवै मन्त्रीहरूले जानकारी लिए । अस्पतालमा उपचार गरिरहेका सर्वसाधारणका समस्या, गुनासाहरू सुन्नुका साथै अस्पताल प्रशासनले राखेको समस्याहरू समेत समाधान गर्न पहल गर्ने संघीय स्वास्थ्यमन्त्री बस्नेतले बताए ।

देशैभरी स्वास्थ्यकर्मीहरूको समस्या बढेको भन्दै हेटौंडा अस्पतालमा पनि त्यो समस्या रहेकाले यहाँ थप स्वास्थ्यकर्मी पठाउनका लागि पहल गर्ने बस्नेतले पत्रकारहरूसँगको प्रतिक्रियामा बताए ।

अहिलै पनि स्वास्थ्यकर्मीहरू सरकारी अस्पतालमा काम थोरै गर्ने र निजी क्लिनिकहरूमा धेरै समय बस्ने गरेको बताउँदै मन्त्री बस्नेतले भने, ‘पहुँचका आधारमा कर्मचारीहरू खटाएको ठाउँमा नजाने, कोही अस्पतालमा थुप्रिएर बस्नेत कोही अस्पतालमा स्वास्थ्यकर्मी नहुने समस्या धेरै छ । अब यस्तो हुन दिदैँनौं ।’

हेटौंडा अस्पतालका प्रमुख डाक्टर रामचन्द्र सापकोटाले हेटौंडा अस्पताल अहिले पनि सरकारी स्तरबाट ५० वटा शय्यामा मात्र सञ्चालनमा रहेको र प्रतिष्ठान अनि व्यवस्थापन समिति मार्फत भने अरु १५० थप गरेर सञ्चालन गरिएको बताए ।


Author

थप समाचार
x