बागमती

बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउनेलाई काठमाडौँ महानगरले कारबाही गर्ने

इकागज |
जेठ २३, २०८० मंगलबार १४:३० बजे

फाइल फोटो

काठमाडौँ - नियम विपरीत बालबालिकालाई राखेको वा जोखिमपूर्ण श्रममा लगाएको पाइएमा काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको छ । महानगरले आज सूचना प्रकाशित गर्दै महानगरभित्र कोही कसैले कानुन विपरीत हुने गरी बालबालिकालाई श्रममा संलग्न गराएको र १४ देखि १८ वर्ष उमेरका बालबालिकालाई जोखिमपूर्ण श्रममा खटाएको भएमा १५ दिनभित्र जानकारी दिन पनि अनुरोध गरेको छ ।

नियम विपरीत घर तथा होटल, ग्यारेज, गाडी, कलकारखानामा बालश्रम गराएको भएमा÷भेटिएमा महानगरको सामाजिक विकास विभागमा जानकारी दिन सकिने उक्त सूचनामार्फत जनाइएको छ । कोही कसैले आफ्नो घरमा वा साथमा राखेको भएमा विभाग, वडा कार्यालय वा महानगर एप केएमसी एपमार्फत १५ दिनभित्र नियमअनुसार सूचीकरण हुन पनि आग्रह गरिएको छ ।


सूचनाअनुसार १५ दिनभित्र सूचीकृत हुन नआएमा घरेलु बालश्रम राखेको मानेर प्रचलित कानुनअनुसार कारबाही गर्ने महानगरपालिकाले चेतावनीसमेत दिएको छ । बालश्रम निषेध गर्ने ऐन २०५६ को दफा ५ अनुसार १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको बालश्रममा लगाउन नपाइने र १८ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन प्रतिबन्ध गरिएको छ । रासस


Author

थप समाचार
x