बागमती

हेटौंडाको तापक्रम ३७ डिग्री : विद्यालय बन्द गरिँदै, घाममा ननिस्कन स्वास्थ्यकर्मीको सुझाव

इकागज |
जेठ २०, २०८० शनिवार १४:२१ बजे

फाइल तस्बिर

मकवानपुर- एक्कासि तापक्रम बढेपछि मकवानपुरमा सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्न थालिएको छ ।

पछिल्लो साता तापक्रम बढेसंगै मकवानपुरको बकैया गाउँपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेको छ । यसैगरी हेटौंडा उपमहानगरपालिकाको वडा ५ ले आफ्नो क्षेत्रमा रहेका विद्यालयहरू बन्द गरेको छ ।


अत्यधिक गर्मीका कारण हेटौंडा उपमहानगर वडा नम्बर–५ का सामुदायिक तथा निजी विद्यालयहरू बन्द गरिने हेटौंडा–५ वडा कमिटीको बैठकले निर्णय गरेको हो । जेठ २१, २२ र २३ गते विद्यालय बन्द गरिने निर्णय गरिएको वडा सदस्य ज्ञानबहादुर थापाले बताए ।

निकै गर्मीका कारण विद्यार्थीहरूलाई पढ्न समस्या भएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको थापाले बताए । हेटौंडा उपमहानगरले गर्मी हुने वडाहरूको आवश्यकताका आधारमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्नेबारे निर्णय गर्ने अधिकार वडा तहलाई दिएको छ ।

मकवानपुरको बकैया गाउँपालिकाले उच्च गर्मीका कारण एक साताका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । शुक्रबार गाउँ शिक्षा समितिको बैठकले एक साताका लागि पालिकाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना प्रकाशित गरेको छ ।

जेठ २१ देखि २७ गतेसम्म एक साताका लागि विद्यालय बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या सिर्जना भई विद्यालयको पठनपाठनमा नकारात्मक असर परिरहेको अवस्थालाई मध्यनजर गरी बिदा दिने निर्णय गरिएको पालिकाले जनाएको छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिका वडा २ मा पनि विद्यालयहरू बन्द गर्ने वा सञ्चालन गर्ने भन्नेबारे आइतबार बिहान विद्यालय व्यवस्थापन समितिसँग बैठक बोलाइएको वडा ध्यक्ष बिष्णुगोपाल श्रेष्ठले बताए । अहिले मकवानपुरको हेटौंडामा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस रहेको छ ।

गर्मीबाट हुनसक्ने लु बाट बच्नका लागि स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । पटक-पटक पानी पिउने, खाली पेट नबस्ने, प्याजको रस खाने, बाहिर निस्कँदा टाउको, कान र गर्दन ढाक्ने कपडा ओड्ने, मध्याह्नको चर्को गर्मीमा घर बाहिर ननिस्कने, पच्ने खानेकुरा मात्र खाने, नरम, मुलायम सुतीको कपडा लगाउने, चिसो फल तथा  खानेकुरा सेवन गर्ने सुझाव​ स्वास्थ्यकर्मीको छ ।


Author

थप समाचार
x