बागमती

राष्ट्रिय भलिबलः उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

इकागज |
जेठ २०, २०८० शनिवार १०:६ बजे

मकवानपुर । हेटौँडामा जारी खुला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच भिडन्त हुने भएको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो भने नेपाल आर्मीले नेपाल पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको खेलमा एपीएफले गण्डकीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल भयो । पहिलो दुई सेट १८–२५ र १५–२५ ले पराजित भएको एपीएफले बाँकी ३ सेट लगातार २५–१९, २५–२३ र १५–१० ले जित्दै फाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ द म्याच एपीएफका सुवास कुँवर घोषित भए ।


पहिलो सेमिफाइनल खेलमा नेपाल आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा सहजै पराजित गरेको थियो । पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २३–२५ ले गुमाएको थियो । दोस्रो सेट नेपाल पुलिसले जितेपछि प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा विपरीत तेस्रो र चौथो सेट आर्मीले सहजै आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गरेको हो । आर्मीले तेस्रो सेट २५–१३ ले र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो । म्यान अफ द म्याच आर्मीका सनोज चौधरी घोषित भए ।

शनिबार बिहान फाइनल खेल हुनेछ । प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबलको संयुक्त आयोजनामा भएको हो । प्रतियोगिताको मुख्य प्रायोजक हेटौँडा उपमहानगरपालिका रहेको छ ।


Author

थप समाचार
x