बागमती

राष्ट्रिय पुरुष भलिबल : सेमिफाइनल पुग्ने टाेलीकाे टुंगाे लाग्याे

इकागज |
जेठ १८, २०८० बिहिवार ११:५९ बजे

मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौँडामा जारी खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल टिमसहित ३ विभागीय टाेली सेमिफाइनल प्रवेश गरेको छ । गण्डकीसहित विभागीय टिम त्रिभुवन आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो ।

घरेलु टोली मकवानपुर जिल्ला भलिबल टिम, झापाको पाथीभरा टाइगर भलिबल क्लब र स्याङ्जाको वालिङ भलिबल क्लब भने समूह चरणबाटै बाहिरिएको मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्तकुमार सिटौलाले जानकारी दिए ।


गण्डकीसहित विभागीय टिम त्रिभुवन आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिसकाे एक आपसमा प्रतियाेगिता हुन बाँकी रहेकोले बिहीबार हुने समूह चरणको अन्तिम खेलले मात्रै सेमिफाइनल समीकरण पूरा हुनेछ । एउटै समूहमा रहेको आर्मी र गण्डकी समूह चरणको दुवै खेल जितेर सेमिफाइनल प्रवेश गरेको हो ।

हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा बुधबार बिहान भएको पहिलो खेलमा त्रिभुवन आर्मीले मकवानपुर जिल्ला भलिबल संघलाई ३–० को सोझो सेटले पराजित गरेको हो । म्यान अफ द म्याच आर्मीका शरण सामरी घोषित भए ।

मंगलबार भएको पहिलो खेलमा मकवानपुरलाई हराएको गण्डकीले बुधबारकाे खेलमा वालिङलाई ३–१ सेटले हराएको हो । गण्डकीले पहिलो र दोस्रो सेट २५–१७, २५–१० ले आफ्नो पक्षमा पारेको थियो । गण्डकीले तेस्रो सेट भने २३–२५ ले गुमाएको थियो । चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै गण्डकी प्रदेशको भलिबल टिम सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको थियो । प्रतियोगिता अन्तर्गत बुधबार दिउँसो भएको पहिलो खेलमा झापाको पाथिभरा टाइगर भलिबल क्लब नेपाल पुलिस क्लबसँग पराजित भएको छ । नेपाल पुलिसले पाथिभरालाई ३–० को को सोझो सेटमा पराजित गरेको हो । म्यान अफ द म्याच पुलिसका कुल बहादुर थापा घोषित भए ।

बुधबार भएको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले वालिङ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । म्यान अफ द म्याच वालिङका रोशन मगर घोषित भए ।

बिहीबार पहिलो खेल मकवानपुर र वालिङबीच खेल हुनेछ भने दोस्रो खेलमा सशस्त्र प्रहरी र नेपाल पुलिस बीच प्रतिस्पर्धा हुनेछ ।

मकवानपुर र वालिङ बीचको खेल प्रतिष्ठाका लागि र सशस्त्र प्रहरी र नेपाल पुलिसबीचको खेल भने समूह चरणको विजेता र उपविजेता छान्न महत्वपूर्ण हुनेछ । बिहीबारको अन्तिम खेल त्रिभुवन आर्मी र गण्डकी प्रदेशको भलिबल टिमबीचको खेल पनि समूहको विजेता र उपविजेता छिनोफानो गर्न महत्वपूर्ण हुनेछ । बिहीबार हुने अन्तिम दुई खेलले सेमिफाइनल समीकरण पनि पूरा अध्यक्ष सिटौलाले बताए ।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले नगद १ लाख प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने दुई टोलीले नगद ५०/५० हजार हात पार्ने मकवानपुर जिल्ला भलिबल संघ अध्यक्ष वसन्त कुमार सिटौलाले जानकारी दिए । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीहरूले जनही नगद ५/५ हजार प्राप्त गर्ने सिटौलाले जानकारी दिए ।

अध्यक्ष सिटौलाका अनुसार प्रतियोगितामा विभागीय टोलीहरू नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित आयोजक मकवानपुर जिल्ला भलिबल संघ, बागमती प्रदेश भलिबल टिम, मधेस प्रदेश भलिबल टिम, मणिमुकुन्द भलिबल टिम, गण्डकी प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम स्याङजा र पाथिभरा भलिबल टिम झापाको सहभागिता रहेकाे छ ।

प्रतियोगितामा करिब २५ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता सञ्चालनमा हेटौंडा उपमहानगरपालिका, प्रदेश खेलकुद विकास परिषद् बागमती, हेटौंडा उपमहानगरपालिकाको १९ र ३ नम्बर वडा कार्यालयले सहयोग रहेकाे आयोजकले जनाएको छ।


Author

थप समाचार
x