बागमती

गाई काटेको आरोपमा ५ जना पक्राउ, पक्राउप्रति घेदुङको आपत्ति

इकागज |
जेठ १८, २०८० बिहिवार ११:० बजे

मकवानपुर । मकवानपुर प्रहरीले मकवानपुरकाे बकैया गाउँपालिकामा गाई काटेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

नेपालको राष्ट्रिय जनावर गाई मासु प्रयोजनको लागि काटिएको आरोपमा बकैया गाउँपालिका–५ स्थित तीनतलेबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ । गाई काटेर मासु भाग लगाइरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर जनाएकाे छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय जयराम स्याङ्तान, ४८ वर्षीय दिनेश थिङ, ५५ वर्षीया माइली थिङ, ६३ वर्षीया साइली माया गोले र ४८ वर्षीया सपना स्याङ्तान रहेका छन् ।

गाई काटेको बारे विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएर करिब ४० केजी गाईको मासुसहित उनीहरुलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले  बताए । उनीहरुविरुद्ध गाई काटेको अभियोगमा मुद्दा दर्ता भएको छ । पक्राउ परेकामाथि म्याद थप गरी  अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।

बरामद गरिएको गाईको मासु परीक्षणका लागि पठाइएको उनले बताए । अभियोग पुष्टि भएमा करिब ३ वर्षको जेल सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको छ ।

यता तामाङ घेदुङले भने मरेको गाईलाई खाल्डो खनेर व्यवस्थापन गरिरहेका स्थानीयलाई नियोजित रुपले पक्राउ गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्ती जारी गर्दै नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिका अध्यक्ष लिलाकुमार घलानले ध्यानाकर्षण भएको जनाएको हो । आदीबासी जनजाति समुहलाई लक्षित गरी विभिन्न आरोप लगाउँदै फसाउने नियत निन्दनीय भएको विज्ञप्तीमा उल्लेख छ । पक्राउ परेका सबै जनालाई तत्काल बिना सर्त रिहा गर्न भनिएको छ भने अन्यथा संघ देशव्यापी रुपमा कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

दुई वर्ष अगाडि पनि जिल्लाको बकैया–११ बाट गाई काटेको आरोपमा मकवानपुर प्रहरीले १० जना पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये ९ जनालाई जिल्ला अदालत मकवानपुरले जनही ४०–४० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । पक्राउ परेका १ जना भने बालक भएका कारण छाडिएको थियो ।

यो घटना झण्डै एक साता अघिको भए पनि प्रहरीले नियमित बुलेटिनमा सार्वजनिक गरेको थिएन, घेदुङले बिज्ञप्ति जारी गरेपछि जानकारी सार्वजनिक भएको हो ।

राष्ट्रिय जनावर मासु प्रायोजनको लागि काट्ने गरेको प्रती नागरिक समाजले समेत दुख व्यक्त गरेको छ । यस्तो सवालमा जातीय मुद्दा  जोड्न नहुने र सामाजिक सद्भाव कायम राख्दै कानुनको पालना गर्न सुझाव दिइएको थियो ।



Author

थप समाचार
x