बागमती

प्रदेश राजधानी हेटौडामा मनाइयो गणतन्त्र दिवस

इकागज |
जेठ १५, २०८० सोमबार १६:४२ बजे

मकवानपुर - बागमती प्रदेशको राजधानी हेटौडामा गणतन्त्र दिवस मनाइएको छ । प्रदेश सरकारको आयोजनामा सोमबार हेटौंडामा गणतन्त्र दिवस मनाइएको हो । दिवसका अवसरमा हेटौंडामा प्रभातफेरी र सभाको आयोजना गरिएको थियो ।

गणतन्त्र दिवस कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश प्रमुख यादब चन्द्र शर्माले ०६२र०६३ को बसन्त क्रान्तिको जगमा जन निर्वाचित संविधानसभाले २०६५ जेठ १५ गतेका दिन नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने ऐतिहासिक दायित्व पूरा गरेको बताए ।


‘यस दिनदेखि परम्परागत राजतन्त्र, एक दलीय पंचायती व्यवस्था र एकात्मक राजकीय प्रणालीको अन्त्य भएको छ प्रदेश प्रमुख शर्माले भने–‘परिणामतः नेपाली जनता सार्वभौम सत्ता सम्पन्न भए,लोकतान्त्रिक मूल्य मान्यताका आधारमा मौलिक अधिकारको सुनिश्चित भयो र नयाँ संविधान निर्माण पश्चात दुइवटा निर्वाचन सम्पन्न भई आज सबै तहका सरकारहरु क्रियाशील रहेको छ ।’ महान शहीदहरुको बलिदानको जगमा प्राप्त उपलब्धीहरुको रक्षा गर्दै अघि बढ्नु हामी सबैको दायित्व रहेको उनले बताए ।

जनताका लागि जनताद्वारा जनताले निर्वाचनको माध्यमबाट शासन गर्ने प्रणाली लोकतन्त्र रहेको बताउँदै शर्माले भने संसारलाई चियाएर हेर्दा विभिन्न मुलुकहरुले आफ्नो समाज, परम्परा, संस्कृति र भूगोलमा आधारित लोकतन्त्रको अभ्यास गरेका छन् । ‘अझै पनि हामीले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्र शैशव कालबाटै गुज्रिरहेको छ । यसलाई विभिन्न जोड र कोणबाट आक्रमण हुने क्रम सुरु भएको यदाकदा सुन्न थालिएको छ’ उनले भने ‘अस्थिरता र संक्रमणका बादलहरु छाँटिएका छैनन् । हामीले हाम्रा किसानहरुबाट के कुरा सिक्न नितान्त आवश्यक छ भने बालीको संरक्षण र पोषणका लागि सबै प्रकारका झारहरु निर्ममतापूर्वक उखेल्नुपर्दछ ।’

उनले नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार अझ बढी दृढ सङ्कल्पित हुन सकोस् भन्ने शुभकामना दिएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारको लगानी अभिवृद्घि गर्दै नागरिक हक–हित रक्षाका लागि हामी सबै एकजुट हुँदै संविधानले मार्ग निर्देशित गरेको समाजवाद उन्मुख अर्थ व्यवस्थाको अवलम्बनबाट समृद्ध राज्य निर्माण गर्ने प्रेरणा गणतन्त्र दिवसले प्रदान गर्ने छ’ उनले शुभकामना व्यक्त गर्दै भने ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्रीहरु, सांसदहरु, मन्त्रालयका सचिबहरु, कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो । गणतन्त्र दिवसका अवसरमा बिभीन्न व्यक्तित्वहरुलाई पुरस्कृत समेत गरिएको थियो ।


Author

थप समाचार
x