बागमती

दोस्रो बागमती प्रदेश खेलकुद : फुटबलमा मकवानपुरलाई स्वर्ण

इकागज |
जेठ १४, २०८० आइतबार ६:४३ बजे

मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबलमा मकवानपुरले स्वर्ण जितेको छ । शनिबार हेटौँडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फुटबल फाइनलमा काठमाडौंलाई ४-३ ले हराउदै मकवानपुर दोस्रो पटक प्रतियोगिताको च्याम्पियन बनेको छ ।

खेलकुद प्रतियोगिताको अन्तिम दिन शनिबार भएको पुरुष फुटबलमा निर्धारित ९० मिनेटमा एक/एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा मकवानपुरले काठमाडौंमाथि ४–३ को जित हासिल गर्यो ।


निकै प्रतिस्पर्धात्मक फाइनल खेलको तालमेल नमिल्दा खेल सुरु भएको १२ औँ सेकेण्डमा मकवानपुरले आत्मघाती गोल गरे संगै काठमाडौंले १–० को अग्रता बनायो।

खेलको पहिलो हाफमा गोलको लागि संघर्षरत मकवानपुरले राम्रो अवसर पाए पनि काठमाडौंको पोष्टमा गोल गर्न सकेन । मकवानपुरका लागि खेलको ७० औँ मिनेट सुजन गुरुङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । मकवानपुरका कप्तान प्रितम स्याङ्बोको पासलाई सुजनले काठमाडौको पोष्टमा जाली चुमाए । त्यसपछिको समयमा दुबै तर्फबाट गोल हुन नसके पछि खेल पेनाल्टीमा धकेलियो ।

पेनाल्टीमा मकवानपुरका निर्मल बल र काठमाडौंका खेमराज तामाङको प्रहार गोलमा परिणत हुन सकेन । मकवानपुरका विकास लामा, सुवास पाख्रिन, सुजन गुरुङ र प्रितम स्याङ्बोले गोल गरे । काठमाडौंका लागि वाङ गुरुङ, कब्बु कन्दङ्वा र सनम शेर्पाको प्रहार गोलमा परिणत भयो । विवेक राईको प्रहार बाहिरिएसँगै मकवानपुरले स्वर्ण जित्यो ।

मकवानपुरका सुजन गुरुङ फाइनल खेलका म्यानअफ द क्याच घोषित भए । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी मकवापुरका कप्तान प्रितम स्याङ्बो घोषित भए । विधागततर्फ उत्कृष्ट मकवानपुरका गोलरक्षक गोपी बर्तौला, रक्षक काठमाडौंका सौगात लामा, मिडफिल्डर मकवानपुरका स्याम्युल सुनार, फर्वाड खेमराज तामाङ, सर्वाधिक गोलकर्ता प्रितम स्याङ्बो घोषित हुँदा उत्कृष्ट प्रशिक्षकमा मकवानपुरकै विजयलाल श्रेष्ठ चुनिए ।

बागमती खेलकुद प्रतियोगिताको पहिलो संस्करणमा मकवानपुरले ललितपुरलाई पराजित गर्दै फुटबलमा स्वर्ण जितेको थियो ।


Author

थप समाचार
x