बागमती

बागमती प्रदेशमा एक लाख १ हजार ७३३ जनाले एसईई परीक्षा दिँदै

इकागज |
चैत १६, २०७९ बिहिवार १७:५४ बजे

बागमती- बागमती प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई परीक्षा) मा एक लाख एक हजार सात सय ३३ विद्यार्थीले परीक्षा दिँदै छन् ।

गत वर्षको तुलनामा यस वर्ष परीक्षा दिने विद्यार्थीको सङ्ख्या कम रहेको बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार गत वर्ष एक लाख सात हजार छ सय २५ विद्यार्थी परीक्षामा सहभागी थिए ।
 
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालनमा रहेको परीक्षा भोलि १७ गते शुक्रबारदेखि सुरु हुने र परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको निर्देशनालयका सूचना अधिकारी शारदा मैनालीले जानकारी दिइन् । बागमती प्रदेशको १३ वटै जिल्लामा सो परीक्षाका लागि जनशक्ति परिचालन, परीक्षा केन्द्रको निर्धारण, प्रश्नपत्र र कापी पुर्‍याउनेलगायतका काम भइसकेको उनले बताइन् ।


यही चैत २९ गतेसम्म हुने उक्त परीक्षाका लागि बागमती प्रदेशभरिमा चार सय ३४ परीक्षा केन्द्र कायम भएको बताइएको छ । यो वर्षको एसईई परीक्षामा सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ३६ हजार पाँच सय ७७ र सबैभन्दा कम रसुवा जिल्लाबाट छ सय २८ विद्यार्थीले परीक्षा दिने भएका छन् ।

निर्देशनालयका अनुसार काठमाडाैँमा एक सय २३ र रसुवामा पाँच वटा परीक्षा केन्द्र तोकिएको छ । शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको तथा परीक्षा तालिकाअनुसार भोलि चैत १७ गते बिहान ८ देखि ११ बजेसम्म परीक्षा हुने निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिए ।

प्रश्नपत्र नजिकको प्रहरी चौकी र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुर्‍याउने काम भइसकेको तथा सुरक्षाको व्यवस्थासमेत भइसकेको छ ।


Author

थप समाचार
x