बागमती

बागमतीका मुख्यमन्त्री शालिकरामले पाएनन् विश्वासकाे मत, अनि सारियाे प्रदेशसभाकाे बैठक

इकागज |
चैत ८, २०७९ बुधबार १७:४८ बजे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी चैत १० गते विश्वासको मत लिने भएका छन् । 
आज लिने भनिएको विश्वासको मत गठबन्धनमा कुरो नमिलेपछि १० गतेलाई सारिएको हो । आज ३ बजे बस्ने भनेको बैठकमा काँग्रेसका सांसदहरु उपस्थित नभएपछि बैठक सारिएको हो । 

प्रदेश सभा सचिवालयले बुधबार बस्ने भनिएको बैठक विशेष कारणवश सारिएको भन्दै सूचना मार्फत जानकारी गराएको छ । २०७९ चैत १० गते शुक्रबार दिनको १ बजे बस्ने गरी समय निर्धारण गरेको सचिवालयले जनाएको छ । 


उक्त बैठकमा मुख्यमन्त्री जम्कट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा वागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेस वागमती प्रदेश कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेपनि बुधबार सबै सांसदहरु हेटौंडा आएनन् । गठबन्धन भित्रको कुरा नमिल्दा सांसदहरु हेटौंडा नआएपछि निर्धारित समयभन्दा २ घण्टापछि सूचना टाँस गरी बैठक प्रदेश सभा बैठक सारिएको हो । प्रदेश संसदीय दलको बैठकले प्रदेश समिति बैठकले गरेको निर्णयको आधारमा मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको थियो।

यता नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिन शर्त राखेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बागमती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले राजीनामाका लागि शर्त अघि सारेको बुझिएको छ ।

आफूहरु प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेशसभा बैठकमा आफ्ना धारणा राखेर मात्र राजीनामा बागमती प्रदेशसभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।

केन्द्रमा बनेको समीकरण अनुसार नै हामी चल्छौ, तर हामी राजीनामा दिनु अघि प्रदेशसभा बैठकमा आफ्नो कुरा राख्छौ” थपलियाले भने । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री जम्कट्टेललाई सरकारबाट एमाले हटेपछि मात्र विश्वासको मत दिने र अन्य प्रक्रिया अघि बढाउन दबाब दिएको बुझिएको छ ।

यता एमालेले प्रदेशसभा बैठक जहिले बोलाउँछन्, त्यही बेला आफूहरुको कुरा राखेर राजीनामा दिने तयारी गरेका थिए । प्रदेशसभा बैठक बसेको भए आजै राजीनामा दिन तयारी एमालेको मन्त्रीहरुको थियाे ।

आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूचीसहित प्रदेशसभा बैठक आह्वान गरिएको थियो । तर उक्त बैठकमा नेपाली कांग्रेसका सांसद भने अनुपस्थित भए । आफूहरुसँग सल्लाह नै नगरी मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेको भन्दै कांग्रेसले प्रदेशसभा बैठकमा अनुपस्थित हुने जानकारी मुख्यमन्त्री जम्कट्टेललाई गराइसकेको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन संसदमा सम्बोधन गरेर मात्र नेकपा एमालेले निर्णय लिने नेकपा एमाले बागमती प्रदेश संसदीय दलले निधो गरेको छ ।
नेकपा एमालेको मिसन ग्रासरुट अभियानको मुख्य कार्यक्रम रहेकोले चैत १० र ११ गते प्रदेश सभामा उपस्थित हुन नसक्ने भएकोले १२ गते प्रदेश सभा बैठक राख्न लिखित अनुरोध गर्ने निर्णय एमाले बागमती प्रदेश संसदीय दलले गरेको नेकपा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलद्वारा जानकारी दिए । यता सचिवालयले भने १० गते नै संसद बस्ने बारे सूचना सार्वजनिक गरेको छ । बागमती प्रदेश सरकारमा नेकपा एमालेबाट ४ जना मन्त्री छन् ।


Author

थप समाचार
x