बागमती

मकवानपुरमा डेङ्गु : सङ्क्रमितकाे संख्या ६ हजारनजिक पुग्दै, पछिल्लो साता शून्य

इकागज |
चैत ८, २०७९ बुधबार १५:३८ बजे

मकवानपुर । केही महिनाअघि निकै समस्याको रुपमा रहेको डेंगु संक्रमण अहिले मकवानपुरमा नियन्त्रणमा आएको छ ।

पछिल्लो दुई साता दैनिक परीक्षण गर्दा समेत संक्रमितको संङ्ख्या शून्य रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा लामखुट्टे नियन्त्रणका लागि किटनाशक औषधि छर्कनेलगायतको अभियानलाई निरन्तरता दिएपछि लामखुट्टेको संक्रमण कम भएको हो ।


हेटौँडा उपमहानगरपालिकामा गत वैशाख, जेठबाट डेङ्गु रोगको सङ्क्रमण सुरु भएकामा भदौ, असोजमा पुग्दा महामारीको रूप लिएको थियो  । उपमहानगरपालिकाले सतर्कता अपनाउँदै वर्षापूर्व नै लामखुट्टे नियन्त्रण गर्न किटनाशक औषधि छर्कने अभियान सुरु गरेको जानकारी दिएको छ ।

दुई दिनयता हेटौंडामा पानी परेको र दिनको तापक्रम बढेको छ । अब फेरि यो संक्रमण बढ्न सक्ने भएकोले स्वास्थ्य कार्यालयले यसको तयारी थालेको बताइएको छ । “सरसफाइबारे जनचेता र लार्भा नाशको लागि औषधि छिट्ने काम अब फेरि सुरु गर्नुपर्ने हुनसक्छ, हामी त्यसको लागि तयारी छौ” स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले भने ।

हेटौडा र आसपासका क्षेत्रमा गर्मीको सुरुवातसँगै लामखुट्टेको टोकाइबाट हुने सङ्क्रमणको जोखिम बढ्न थालेको उनले बताए । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणका कारण चालू आर्थिक वर्ष २०७९÷८० मा हेटौँडा उपमहानगर क्षेत्रका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कमा रहेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार गत साउनदेखि हालसम्ममा मकवानपुरमा महिला दुई हजार ६५६ जनासहित पाँच हजार ८६१ जनामा सङ्क्रमण भएको छ ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक घिमिरेले चालु आवमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा चार हजार ३४० जनामा र त्यसपछि मनहरी गाउँपालिकामा एक हजार ५३ जनामा सङ्क्रमण भएको छ । सङ्क्रमण फैलिन नदिन सचेतना अपनाउन आग्रह गरिएको छ । थाहा नगरपालिकामा गत साउनयता हालसम्म १७५ जनामा सङ्क्रमण भएको पाइएको छ ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखाका वरिष्ठ अहेव अधिकृत अनन्त बास्कोटाले गत वैशाखदेखि असोजसम्म देखिएको सङ्क्रमणले नगर क्षेत्रमा फैलिएको त्रास रोक्न यस पटक बर्खाअघि देखि नै लामखुट्टे नियन्त्रण गर्ने कार्य सुरु गरिएको र बर्खापछि पुनः लामखुट्टे नियन्त्रण गर्न कीटनाशक औषधिको प्रयोग गरिने बताए ।

“अब महामारीको रूपमा नआओस् भनेर अभियान सञ्चालन गरी संक्रमण नियन्त्रण गर्ने प्रयास सुरु गरिएको छ” बास्कोटाले भने । लामखुट्टे नियन्त्रण गर्ने कार्यका लागि कीटनाशक औषधि छर्कन पाँचवटा मेसिन प्रयोगमा ल्याइएको छ । शाखाका अनुसार अहिले लामखुट्टे नियन्त्रणका लागि प्रयोग भइरहेको औषधिले मानव स्वास्थ्यमा भने नकारात्मक असर नपर्ने बताइएको छ । स्थानीय तह र स्वास्थ्या कार्यालयहरुले मात्रै पहल कदमी गरेर डेङ्गुको संक्रमण नियन्त्रण लिन सकिदैन । सर्वसाधारण सबैले आ–आफ्नो सुरक्षाको लागि शरिर ढाक्ने लुगा लगाउने, हातगोडामा तेल लगाउने, घर र विद्यालय वरपर झाडिहरु नराखि सरसफाइन ध्यान दिन स्वास्थ्यकर्मीहरुको अनुरोध छ ।


Author

थप समाचार
x