बागमती

हेटौंडा बजारको विद्युतीय तार भूमिगत गरिने

इकागज |
चैत १, २०७९ बुधवार १०:३७ बजे

मकवानपुर - विद्युत पोलमा गुजुल्टिएको तारले अशोभनीय बन्दै आएको हेटौंडा बजारको तारको व्यवस्थापन गरिने भएको छ । विद्युत प्राधिकरणसँगको समन्वयमा हेटौंडा उपमहानगरपालिकाले तारको व्यवस्थापन कार्य गर्ने भएको हो ।

 हेटौंडा उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रको बाहिर देखिएका तारलाई भूमिगत गर्ने तयारी थालेको हो । जताभावी देखिएका तारका कारण बजार क्षेत्रको शौन्दर्यमा कमी आएको भन्दै उपमहानगरले मुख्य बजार क्षेत्रका तारहरूलाई भूमिगत गर्ने निर्णय गरेको छ ।


मंगलबार बसेको उपमहानगरको २०औं कार्यपालिका बैठकले हेटौंडाको मुख्य बजार क्षेत्रको रूपमा रहेको १, २, ४, १० र ५ को केहि भागका पोलमा रहेको तारलाई भूमिगत गर्नेनिर्णय भएको हो । तार व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणलाई कार्यपालिकाको बैठकको निर्णयसँगै सिफारिस पत्र पठाउने तयारी भएको उपमहानगरले जनाएको छ ।

बैठकले हेटौंडा उपमहानगरलाई उज्यालो शहरको रूपमा विकास गर्न नगरका विभिन्न ठाउँमा ‘हाइ मास्ट लाइट’ राख्ने निर्णय गरेको छ । उपमहानगरका १९ वटै वडालाई लक्षित गर्दै लाईटको व्यवस्थापनका लागि नेपाल बिद्युत प्राधिकरणसँग छलफल भैरहेको जनाएको छ ।

बजारसहित नगरका सबै वडालाई समेटेर लाइटको व्यवस्थापनका लाग्ने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले बताइन् । उनले भनिन ‘पहिले बजार केन्द्रित व्यवस्थापनको कुरा गरिएको थियो तर अहिले नगरका सबै वडामा आवश्यकता अनुसार लाईट राख्ने तयारी गरेका छौं ।’ उनले भनिन्–लाईट राख्ने ठाउँ र संख्या बारे अध्ययन भैरहेको छ । लाईटका लागि विद्युत् प्राधिकरणसँग सामान्य सहमति बनिसकेको बताइएको छ ।

सहमतिअनुसार ४० प्रतिशत अनुदान प्राधिकरणले दिने छ भने ६० प्रतिशत लगानी उपमहानगरले गर्ने भएको छ । पहिलो चरणमा उपमहानगरले हाइ मास्ट लाइटका लागि ६० लाख रुपैयाँ बजेट छुट्याएको शहरी पुर्वाधार विकास महाशाखाका प्रमुख सत्यनारायण शाहले बताए । पहिलो चरणमा २५ वटा १० देखी १६ मिटर उचाई भएका लाईटको माग गर्ने तयारी उपमहानगरले गरेको उनले बताए ।

त्यस्तै कार्यपालिका बैठकले उपमहानगर प्रवेशको चार स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरेको छ । बैठकले नगरको पूर्वमा १८, पश्चिममा १९, दक्षिणमा १५ र उत्तरमा १ नम्बर वडा क्षेत्रको पाएक पर्ने स्थानमा आवत जावत गर्नेका लागि सहज हुने गरी शौचालय निर्माण गर्ने निर्णय गरेको हो ।

त्यस्तै न्यून आय भएका गरीव तथा बिपन्न परिवारका ६६३ जनाको निःशुल्क स्वास्थय बिमा गर्ने निर्णय गरेको छ । नगर स्तरीय स्वास्थ्य विमा लाभग्राही छनौंट समितिले २०७९ फागुन ११ गते गरेको निर्णयबाट भएको सिफारीस अनुसार उनीहरूको स्वास्थ्य बिमा गरिने निर्णय भएको प्रवक्ता सविन न्यौपानेले बताए ।

बैठकले सार्वजनिक पूर्वाधार सम्पत्ति संरक्षण, उपमहानगरको पाठ्यक्रम निर्माण तथा कार्यान्वयन कार्यविधी २०७७ संसोधन, बाटो सार्वजनिक, घर नक्सा अभिलेखिकरण तथा नियमित गर्ने , अनलाईन नक्सा पाससहित विभिन्न खेलमैदान निर्माण सम्बन्धी निर्णय प्रवक्ता न्यौपानेले जनकारी दिए ।

बजारको सबैजसो पोलहरूका विभिन्न कम्पनीका केवलका तारहरू जम्मा हुँदा बजारको शोभा नै गुम्दै आएको थियो । यस्ता तारहरू हटाउन स्थानीयवासीहरूबाट लामो समयदेखि आवाज उठ्दै आएको थियो । नगरपालिकाले हाललाई केही वडाहरूबाट यो काम थाले पनि सबै क्षेत्रको यस्ता तारहरू भूमिगत गर्नुपर्ने हेटौंडावासीको भनाइ छ ।


Author

थप समाचार
x