बागमती

उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण परीक्षणमा फेल

इकागज |
मंसिर १६, २०७९ शुक्रवार १५:२६ बजे

काठमाडौं- काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधनहरू प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ ।

शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण गर्दा आज परीक्षण गरेका अधिकांश सवारीसाधनहरू प्रदूषण परीक्षणमा फेल भएको पाइएको हो । आज विभागले गरेको ५४ वटा सवारीसाधनको प्रदूषण परीक्षणमा ३८ वटा सवारीसाधन फेल भएको पाइएको छ भने १६ वटा सवारीसाधन मात्रै पास भएको पाएको विभागले जनाएको छ ।


न्युज एजेन्सी नेपालसँग कुरा गर्दै वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले आजको प्रदूषण परीक्षणमा फेल हुनेहरूलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएको बताए । उनले प्रदूषण फेल हुनेहरूले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनः परीक्षण गराइ पास भएपछि मात्रै कागजपत्रहरू फिर्ता लैजान पाउने उल्लेख गरे ।

उनले परीक्षण पास गर्न पठाएका सवारीहरू अर्को पटक पनि परीक्षण गर्दा फेल भएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रुपैयाँसम्मको कारबाही गर्ने चेतावनी दिए ।

महानिर्देशक घिमिरेले आगामी दिनमा सवारीसाधनहरू प्रदूषण फेल भएर चलाएको पाएमा विभाग कारबाही गर्ने कुरामा पछि नहट्ने बताए । उनले विगतमा हालै मात्र प्रदूषण परीक्षण गराएको हो भनेर चालकहरू पन्छिने गरेको भन्दै यसपटक लापरबाही नगर्न आग्रह गरे ।

सवारी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि चेकजाँच गरिरहेको छ । यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका सवारीसाधनले ६/६ महिनामा सवारीको प्राविधिक जाँच गराउनुपर्छ । यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य सर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ । जसको अर्थ अबदेखि प्रत्येक ठूला तथा भाडाका सवारीले ६/६ महिनामा प्रदूषण जाँचको रिपोर्ट लिएर जानुपर्छ ।

त्यस्तै साना तथा मझौला साधनले १ वर्षमा एक पटक त्यस्तो जाँच गराउनुपर्छ । जसमा पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ । परीक्षण पास नहुन्जेलका लागि रुट इजाजत निलम्बन हुने, सवारीमा रहेका यात्रुहरूलाई अन्तिम बिन्दुसम्म पुर्‍याएपछि सवारी गुडाउन नपाउने, आवश्यक मर्मतसम्भार पश्चात पुनः प्रदूषण चेक जाँचका लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान छ । 


Author

थप समाचार
x