बागमती

सूचना मन्त्रालयकाे रिकभरी केन्द्रमा लागेको आगो डेढ घण्टापछि नियन्त्रणमा

इकागज |
असोज ९, २०७९ आइतवार १६:५९ बजे

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ मा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा (डिजास्टर रिकभरी केन्द्र) मा आगलागी भएको छ ।

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत राष्ट्रिय सूचना प्रविधि केन्द्रमा भएको आगलागी करिब डेढ घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको छ । केन्द्रको व्याकअप ब्याट्रिमा करेन्ट सर्ट हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको दमकल, र सुरक्षाकर्मीको उपस्थितिमा आगो नियन्त्रणमा लिइएको थियो ।


उक्त कोठाभित्र ४८० वटा ब्याकअप ब्याट्रि रहेको बताइएको छ । घटनापछिको विस्तृत क्षति विवरण आउन बाँकी छ । यो केन्द्र सिंहदरबारको तथ्याङ्कीय ब्याकअप हो । काठमाडौँको सिंहदरबारमा रहेको तथ्याङ्कीय ब्याकअप (डाटा सेन्टर) मकवानपुरको हेटौंडामा ३ वर्ष अघि स्थापना गरिएको हो । कोरियाली सरकारको सहयोगमा ३७ करोडको लगानीमा तय भएको डाटा सेन्टर ३१ जेठ २०७७ मा नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले उद्घाटन गरेका थिए ।

सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण सूचनाको सुरक्षा र तिनीहरूको व्यावसायिक विवरणमा सेन्टरले सहयोग गर्ने गरी यसको स्थापना गरिएको हो । सिंहदरबारको डाटा सेन्टरको डाटा कुनै प्रकोपको कारण नष्ट भएमा त्यसको ब्याकअपको रूपमा सुरक्षित गर्न यो डाटा सेन्टर निर्माण गरिएको हो । हेटौंडाको हुप्रचौरस्थित पहिलेको नगर विकास समितिको १० कठ्ठा जग्गामा डाटा सेन्टर निर्माण भएको छ ।

डाटा सेन्टरमा राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट, ईप्रोक्युरमेन्ट, विद्युतीय हस्ताक्षर, ईकस्टमलगायत ईसेवा सञ्चालन हुन्छ । सिंहदरबारको डाटा सेन्टर पनि कोरियाकै सहयोगमा निर्माण गरिएको हो ।

याे पनि

हेटाैंडामा सूचना मन्त्रालयकाे रिकभरी केन्द्रमा आगलागी


Author

थप समाचार
x