बागमती

प्रचण्डको अडानले संकटमा पर्नसक्छ कांग्रेसका बस्नेत र महतको उम्मेदवारी

किशोर बुढाथोकी |
भदौ २४, २०७९ शुक्रबार २०:४५ बजे

काठमाडौँ- शुक्रबार सिन्धुपाल्चोकको चौतारामा १०९ औँ बीपी जयन्तीको सन्दर्भमा जनताको साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रम चलिरहेको थियो । प्रमुख अतिथि थिए, कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत ।

कार्यक्रममा बस्नेतले रोलक्रमभन्दा अगाडि नै बोले । उनले भने, ‘काठमाडौँबाट प्रकाशमान सिंहले बोलाउनु भयो, म छिट्टै जानुपर्ने भयो ।’


मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै आफ्नै जिल्लामा भएको कार्यक्रममा बस्नेतले बीचमै मञ्च छाडेर हिँड्दै गर्दा दिएको यो अभिव्यक्तिले धेरै अर्थ राखेको उपस्थित कांग्रेसीजनहरूले लख काटे । कार्यक्रममा रहँदा पनि बस्नेतको मुहारमा चमक थिएन । उनको मलिन अनुहारसँगै गठबन्धनबाट उनले टिकट पाउन गाह्रो परेको शंका कांग्रेसी कार्यकर्ताहरूले गरेका थिए ।

आगामी निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गर्ने निर्णय गरेको छ । बस्नेतको क्षेत्र सिन्धुपाल्चोक–१ हो । जुन गठबन्धन दल माओवादीका नेता तथा सभामुख अग्निप्रसाद सापकोटाको पनि हो । यहाँ दुवै ‘हेभिवेट’ नेताले टिकटका लागि आफ्नो अडान छाडेका छैनन् ।

माओवादीका सापकोटा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का निकट हुन् । आउँदो निर्वाचनमा सापकोटा गठबन्धनको आधिकारिक उम्मेदवार बन्दै बस्नेतलाई पाखा पार्ने हो कि आशंका पनि चुलिएको छ । अघिल्लो चुनावमा जितेका ठाउँमा त्यही पार्टीले टिकट पाउने सहमति गठबन्धनले गरेको छ । सिन्धुपाल्चोकमा २०७४ को चुनावमा कांग्रेसका नेता बस्नेतलाई हराउँदै सापकोटा सांसद भएका थिए ।

यता बस्नेत पनि यो क्षेत्र कांग्रेसको पकड भएका कारण टिकट आफूले पाउने दाबी गर्दै आइरहेका छन् । स्थानीय तहको परिणाम अनुसार माओवादीको भन्दा दोब्बर मत कांग्रेसको छ ।

अर्कातिर कांग्रेस नेताहरूका अनुसार, वाग्मती प्रदेशको सिन्धुपाल्चोक–१ र नुवाकोट–१ मा जसरी माओवादीकै उम्मेदवार हुनुपर्ने प्रचण्डको अडान छ । यी दुई क्षेत्र आफ्नो भागमा पार्न अन्य क्षेत्रमा प्रचण्डले लचकता अपनाएका छन् । नुवाकोटबाट कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले चुनाव लड्न चाहेका छन् ।

वाग्मती प्रदेशको यो क्षेत्र आफ्नो भागमा परे गठबन्धनका सिट बाँडफाँटमा पनि प्रचण्ड केही हलुको हुन सक्ने नेताहरूको आँकलन छ । तर, केन्द्रीय सदस्य बस्नेत यो कुरा मान्न तयार छैनन् उनले सिन्धुपाल्चोक–१ कांग्रेसले नपाए विद्रोह गर्ने चेतावनी पनि दिइसकेका छन् ।

प्रचण्ड सिन्धुपाल्चोक–१ बाट अग्निप्रसाद सापकोटा र नुवाकोट–१ बाट हितबहादुर तामाङलाई उम्मेदवार बनाउने तयारीमा छन् । सापकोटा र तामाङलाई उम्मेदवार बनाउनकै लागि प्रचण्डले अडान नछाडेका हुन् ।

नुवाकोट–१ मा पनि यसअघि माओवादीले नै जितेको थियो । बाम गठबन्धनबाट माओवादीका हितबहादुर तामाङले ३६ हजार चार सय ७३ मत प्राप्त गर्दा कांग्रेसका रामशरण महतले २७ हजार ९ सय २० मत ल्याएका थिए । कूल खसेको मतमध्ये तामाङले ५५.२४ प्रतिशत ल्याउँदा रामशरण ४२.२९ प्रतिशतमा खुम्चिएका थिए ।
२०७४ को निर्वाचनमा यो क्षेत्रमा एक लाख पाँच हजार दुई सय ८७ मतदातामा ६९ हजार ६ सय ९६ मत खसेको थियो । त्यतिबेला महत र तामाङसँगै स्वतन्त्रसहित १० उम्मेदवार चुनावी स्पर्धामा थिए । स्थानीय तहको निर्वाचनको परिणाम अनुसार अहिले यहाँ कांग्रेस बलियो छ ।

मंसिर ४ को चुनावका लागि माओवादी केन्द्रले सिन्धुपाल्चोक–१ बाट सापकोटा र कांग्रेसले बस्नेतको नाम प्रतिनिधिसभाका लागि सिफारिस गरेको छ । बस्नेतको एकल सिफारिस गरिएको छ भने माओवादीले सापकोटासँगै तीन जनालाई सिफारिस गरेको छ ।

२०७४ मा बाम गठबन्धनबाट चुनावी मैदानमा ओर्लिएका सापकोटाले ४० हजार ५ सय ४ मत ल्याउँदा कांग्रेसका बस्नेत २९ हजार ७ सय ९८ मत प्राप्त गरेका थिए । २०७४ को चुनावमा यो क्षेत्रमा एक लाख १४ हजार तीन सय ४४ मतदाता थिए । ७८ हजार ६ सय  ९६ मत खस्दा सापकोटाले ५५.३० प्रतिशत मत ल्याउँदा बस्नेतको नाममा ४०.६८ प्रतिशत मत रह्यो । यी दुई सँगै यो क्षेत्रमा १३ जना चुनावी मैदानमा होमिएका थिए ।

२०७४ को निर्वाचनमा बाम गठबन्धनको मत ४४ हजार ७६ थियो भने लोकतान्त्रिकको मत २५ हजार सात सय ५९ थियो । तर, मत परिणाममा भने सापकोटाले चार हजार मत घटाउँदा सो मत बस्नेतले बढाएका थिए ।

यो क्षेत्रमा कांग्रेस निकै बलियो रहेको स्थानीय तह निर्वाचनको मत परिणामले देखाउँछ ।

सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये क्षेत्र नं १ मा रहेका ७ मा कांग्रेस एक्लैले बाह्रबिसे, भोटेकोशी र त्रिपुरासुन्दरीमा प्रमुख/उपप्रमुख जितेको छ । सुनकोशी र बलेफीमा उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको छ । जुगलमा भने माओवादीसँगको सहकार्यमा उपाध्यक्ष जितेको हो । पहिले तीन वटा क्षेत्र हुँदा साविक क्षेत्र नं. २ बाट अहिले क्षेत्र नं. १ गाभिएका स्थानमा कमजोर भनिएको कांग्रेसले जितेको छ । कमजोर रहेको भनिएको चौतारा साँगाचोकगढी नगरपालिकामा समेत दुई वडामा कांग्रेसले जित हासिल गरेको छ ।

हालको क्षेत्र नम्बर १ को ५३ वटा वडा छन् । तीमध्ये कांग्रेसले मात्रै ३२ वटा वडा  जितेको छ । एमाले १६ वटा वडामा विजयी हुँदा माओवादी केन्द्रले ५ वटा मात्रै जितेको छ । वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ । त्यस्तै राप्रपाको २ हजार र नेकपा एकीकृत समाजवादीको १६५० मत छ । यो तथ्यांकले कांग्रेस अगाडि रहेको पुष्टि गर्छ ।

साविकको क्षेत्र नं. १ मा अहिले साविकको क्षेत्र नं. २ का केही गाउँ थपिएको छ । यो क्षेत्रमा चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० वडा थपिएका छन् । यो सँगै जुगल गाउँपालिका र बलेफी गाउँपालिकाको वडा नं. १, २ र ३ नं. वडा पनि अहिलेको प्रतिनिधि सभा १ मा गाँसिएको छ ।


Author

थप समाचार
x