बागमती

जिसस मकवानपुरद्वारा ११ करोड बजेट पेश, विकट स्थानीय तह कार्यसम्पादनमा सर्वोत्कृष्ट

इकागज |
साउन २६, २०७९ बिहिवार ८:५५ बजे

मकवानपुर - जिल्ला समन्वय समितिले आर्थिक बर्ष २०७९–८० को लागि ११ करोड ४६ लाख ५ हजार ४७९ रुपैयाँ बजेट पेश गरेको छ । समन्वय समिति उपप्रमुख सानुकाजी लुईंटेलल जिल्ला सभामा उक्त बजेट पेश गरेका हुन् । 

बजेट कार्यान्वयन गर्ने स्रोतकोरूपमा संघीय अनुदानबाट १ करोड ४० लाख १७ हजार, बागमती प्रदेश सरकार अनुदानबाट ७५ लाख, प्राकृतिक स्रोतको रोयल्टी बााबाँडपाँडबाट १३ लाख बजेट पेश गरिएको हो ।


यसैगरी विविध कोष खातामा रहेको २२ लाख ४४ हजार, जिल्ला विकास समितिको मौज्दात कोषबाट ८ करोड ८८ लाख, कोरोना आपतकालीन कोषको १२ लाख गरी ११ करोड ४६ लाख ५ हजार ४७९ रुपैयाँको बजेट पेश गरेका थिए ।

समन्वय समितिले सन्तुलित, दिगो र गुणस्तरीय विकास, रोजगारी सृजना र गरिबी निवारण, खेलकुद र पर्यटन विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा प्राकृतिक स्रोतको सदुपयोग प्रवर्द्धन, सामाजिक न्याय तथा लैङ्गिक जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेको समन्वय समिति प्रमुख ललितबहादुर घलानले बताए ।

जिल्ला सभामा मकवानपुर जिल्लाको १० पालिका मध्ये कार्यसम्पादनमा उत्कृष्ट भएका पालिकाहरुलाई सम्मान पनि गरिएको थियो ।

स्थानीय तहहरूले वार्षिक रूपमा गरेको कार्य प्रगति मूल्यांकनलगायतका आधारमा मकवानपुरको १० पालिकामध्ये विकट राक्सिराङ गाउँपालिका प्रथम घोषित भएको छ ।

स्थानीय तह संस्थागत स्वमूल्यांकन कार्यविधि २०७८ को अंकभारमा ६३ दशमलव २ प्रतिशत अंक प्राप्त गर्दै यो पालिका प्रथम भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

जिल्ला समन्वय समिति आन्तरिक मुल्याङ्कनको आधारमा प्रत्येक वर्ष जिल्लाका ३ स्थानीय तहलाई प्रथम, द्वितीय र तृतीय घोषणागरी सम्मानपत्र प्रदान गर्दै आएको छ । जिल्ला समन्वय समितिको मूल्यांकनअनुसार ईन्द्रसरोवर गाउँपालिका दोस्रो र बागमती गाउँपालिका तेस्रो भएका छन् ।
 


Author

थप समाचार
x