बागमती

गोसाइँकुण्ड मेला पार्किङस्थल निर्धारण

इकागज |
साउन २१, २०७९ शनिबार २१:३६ बजे

रसुवा- गोसाइँकुण्ड मेलामा बढ्न सक्ने सवारी चापलाई मध्यनजर राख्दै पार्किङ गर्ने स्थानको व्यवस्थान मिलाइएको छ । काठमाडौँ तथा देशका विभिन्न भागबाट आउने यात्रुवाहक सवारी साधनको ट्राफिक व्यवस्थापन गरी धार्मिक मेला व्यवस्थापन गर्न रसुवा ट्राफिक प्रहरी सक्रिय रूपमा अगाडि बढिरहेको छ ।

यही साउन २३ गतेदेखि २७ गतेसम्म लाग्ने विशेष मेला अन्तर्गत पाँचदेखि सात सय मोटरसाइकल, ७० बस एवं तीन सयसम्म जिप, कार, भ्यान धुञ्चे पुग्न सक्ने आंकलन गर्दै ट्राफिक प्रहरी रसुवाले पार्किङ व्यवस्था मिलाएको हो ।


जिल्ला ट्राफिक प्रहरी इन्चार्ज उज्ज्वलकुमार घलेका अनुसार बसका लागि जिल्ला अस्पताल नजिक फुटबल मैदान, मोटरसाइकल तथा हल्का सवारी साधनका लागि बालमन्दिर प्राङ्गण पार्किङस्थल तोकिएको र अपुग भएमा पासाङल्हामु मार्गको आसपास र मिनिरल वाटरको प्राङ्गणसमेत प्रयोग गराइने छ ।

धुञ्चे प्रवेश गरेका यात्रुवाहक सवारीसाधनलाई व्यवस्थित र मर्यादित तवरले पार्किङ व्यवस्थापन गरी संरक्षण गराउन ट्राफिक प्रहरी तयार रहेको बताउँदै ट्राफिक इन्चार्ज घलेले तोकिएको स्थानले पार्किङस्थल नपुगेमा अन्य वैकल्पिक व्यवस्था तत्काल गरिने समेत जानकारी दिए । कुनै पनि यात्रुवाहक सवारी साधनको अन्तिम गन्तव्य धुञ्चे हुने भएकाले आफ्ना सवारीसाधनलाई तोकिएको स्थानमा मात्र पार्किङ गर्न गराउन सवारी चालकलाई ट्राफिक प्रहरीले आग्रहसमेत गरेको छ ।

यात्रुवाहक सवारीसाधनले सबै यात्रुलाई धुञ्चेस्थित प्रहरी जाँच चौकीमै ओराली तोकिएको पार्किङ स्थानमा जानुपर्ने र यात्रापश्चात गन्तव्य फर्किँदा धुञ्चेको शङ्खपार्कबाट मात्र सवारीसाधनमा यात्रु राख्न पाइने मेला व्यवस्थापन समितिले तय गरेको छ । 


Author

थप समाचार
x