बागमती

हेटौंडामा कोरा साइकल र्‍याली हुँदै

इकागज |
साउन २०, २०७९ शुक्रबार १९:४२ बजे

मकवानपुर । मकवानपुरको हेटौंडा राइडर्स क्लबको आयोजनामा भोलि कोरा साइकल र्‍यालीको तयारी पूरा भएको छ । आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै हेटौंडा कोरा साइकल र्‍यालीको तयारी पूरा भएको जानकारी दिएको छ ।

क्लब अध्यक्ष विकास ताम्राकारका अनुसार साइकल र्‍यालीमा करिब दुई सयजना सहभागी हुनेछन् । विहान ७ बजे हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरबाट सुरु हुने साइकल र्‍यालीले करिब ५० किलोमिटरको यात्रा पूरा गर्नेछन् ।


हेटौंडाको भुटनदेवी मन्दिर परिसरबाट सुरु भई फरेष्ट्री, हुप्रचौर, पारिजात पथ हुँदै कान्तिराज पथ, बुद्ध चोकबाट चौकी टोलहुँदै वन कार्यालय, मनकामना चोक, पिप्ले, फुर्केचौर, गुम्बाडाँडा हुँदै हेटौंडा औद्योगिक क्षेत्र र पुनः कर्रा हुँदै बुद्ध चोकमा पुगेर कार्यक्रम समापन हुने जनाइएको छ । कार्यक्रममा चितवन, बारा, पर्सा जिल्लाका साइकल राइडरहरु गरी करिब २ सय जना सहभागी रहनेछन् ।

कार्यक्रम सञ्चालनका लागि ३ लाख ७० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । उनीहरुले हेटौंडा क्षेत्रका विभिन्न मठमन्दिर तथा पर्यकीय स्थलको परिक्रमा गर्नेछन् । भुटनदेवी मन्दिरबाट हर्नामाडीस्थित गुम्बाडाँडा पुगेर हटियाहुँदै हेटौंडा मुख्यबजारस्थित बुद्धचोकमा आएर साइकल र्‍याली टुंगिनेछ ।


Author

थप समाचार
x