बागमती

हेटौँडावासीलाई निःशुल्क पानी, बागमतीमा कुवाको पानी लिन तीन घण्टा धाउनुपर्ने बाध्यता

सरिता दाहाल |
साउन १६, २०७९ सोमबार ९:५८ बजे

मकवानपुर - नेपालको संविधानमा प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाईमा पहुँचको हक हुने उल्लेख छ । तर अझै धेरै नागरिक पानीको लागि घण्टौँ बाटो धाउन बाध्य छन् । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ टाँडी टोलका स्थानीयले भने कुवाको पानी भर्न घण्टौं दु:ख गर्नुपर्ने बाध्यता छ । 

'अचेल वर्षा भएकोले आफूले खाने पानी मात्रै बोक्नुपर्छ, २ देखि ३ घण्टामा पानी लिएर घर आइपुग्छौँ, सुख्खा समयमा त रातभर निद्रा लाग्दैन' स्थानीय दहमाया पुलामीले भनिन्, 'बिहान ढिलो भए पानी भर्न पाइन्न, यही तर्कनाले राति निद्रा लाग्दैन, एक घण्टा सुतेर पानी खेप्न जान्छौँ ।'


बस्तीनजिक धारा नभएपछि उनीहरू खोलाको छेउ कुवाबाट पानी ल्याउँछन् । झण्डै ९० घरको लागि त्यही एउटा कुवा छ । सुख्खा समयमा त भर्दा भर्दै कुवाको पानी सकिन्छ । अरुभन्दा अघि जान राति नै नसुति पानी लिन जाने गरेको उनले बताइन् ।

'लिनजान त धेरै बेर लाग्दैन, तर पालो कुर्नै बेर लाग्छ, कुवाको पानी सकिने डरले सबै चाँडो आउन हतारिन्छन्,' उनले भनिन्, 'आफू जान नभ्याउँदा छिमेकीलाई गाग्रो पठाएर गाग्रो लाइनमा राख्न भन्ने गरिएको छ ।'

तत्कालीन राइगाउँ गाउँ विकास समितिले पानीको व्यवस्थाको लागि पहल गरे पनि हालसम्म पानीको समस्या उस्तै रहेको छ । एक वर्षअघि बागमती गाउँपालिकाले पानी संकलनको लागि ट्याङ्की निर्माण गरेको थियो । निर्माण गरिएको ट्याङ्कीभन्दा पानीको मुहान तल भएपछि घरघरमा धारा आउने र पानी पाउने स्थानीयको सपना अधुरै छ । स्थानीय तहको निर्वाचनमा नेताहरूले पानी दिने त भने पनि अहिले फर्केर नआएको स्थानीयको गुनासो छ ।

बागमती गाउँपालिका २ टाँडीवासीको पीडा एउटा उदाहरण मात्रै हो । मकवानपुर जिल्लाको विकट स्थानीय स्थानहरूमा अझै पिउने पानीको समस्या रहेको छ । स्वच्छ पिउने पानीको अभावपछि प्रदूषित पानी पिएकै कारण लाग्ने विभिन्न सरुवा रोगको संक्रमणले बेलाबेलामा महामारीको रुप लिने गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले भने नगरवासीलाई निःशुल्क पिउने पानीको व्यवस्था गर्न सुरु गरेको छ । हेटौंडा उपमहानगरपालिकामा स्थानीय तहको निर्वाचनताका घोषणा पत्रमै पिउने पानी निःशुल्क गर्ने एजेण्डा उठाएको गठबन्धनले नि:शूल्क पानीको व्यवस्था गर्न लागेको हो । 

नगरपालिकाले मासिक १० हजार लिटरसम्म खानेपानी निःशूल्क उपलब्ध गराउने भएको हो। उपमहानगरमा मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले मासिक न्यूनतम शुल्क ८५ रुपैयाँ बराबरको १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको उपमेयर राजेश बानियाँले जानकारी दिए । उक्त निर्णय खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धाराहरूमा मात्र लागू हुनेछ । निर्णय अनुसार २३ हजार ५ सय धाराको हकमा लागू हुने मेयर लामाले बताइन्।

उक्त सुविधाबाट हाल १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने दाबी गरिएको छ । निःशुल्क खानेपानी उपलब्ध गराए बापत उपमहानगरले हेटौंडा खानेपानी बोर्डलाई वार्षिक २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने छ । 

'उपभोक्ता समितिमार्फत खानेपानी प्रयोग गरिरहेकाहरूको हकमा भने विशेष निर्णय केही समयपछि गर्नेछौ' मेयर लामाले भनिन् ।

सत्तारुढ गठबन्धनले चुनावको समयमा न्यूनतम शुल्क बराबरको खानेपानी र विद्युत् निःशुल्क उपलब्ध गराउने घोषणा गरेका थियो । उपमहानगरको वार्षिक नीति तथा कार्यक्रममा समेत यो विषय समेटिएको थियो ।


Author

थप समाचार
x