बागमती

बागमतीका मुख्यमन्त्रीले तत्काल राजीनामा नदिने

सरिता दाहाल |
असार १८, २०७९ शनिबार १७:३२ बजे

फाइल तस्बिर

मकवानपुर- पूर्व सहमति अनुसार सरकारको नेतृत्व छोड्न नेकपा (एकीकृत समाजवादी)लाई नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले दबाब दिए पनि केन्द्रीय नेतृत्वको निर्णय बिना सरकारबाट नहट्ने अडानमा दल पुगेको छ।

बागमती प्रदेश संसदीय दलको आज काठमाडौँमा बसेको बैठकले सत्ता गठबन्धनमा सहभागी दलहरूको निर्णय अनुसार अघि बढ्ने तर तत्काल आफैँ राजीनामा प्रक्रियामा नजाने निर्णय गरेको एकीकृत समाजवादी संसदीय दलकी सचेतक मुनु सिग्देलले बताइन्।


'बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले तत्कालन राजीनामा नदिने निर्णय भयो,' सिग्देलले भनिन्, 'केन्द्रीय नेताको निर्णयमा हामी बाधक हुने छैनौँ।'

नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेश संसदीय दलको शनिबार बसेको बैठकले तत्काल राजीनामा नदिने निष्‍कर्ष निकालेको उनले जनाइन्। 'सोचे जस्तो तत्काल मुख्यमन्त्रीबाट राजीनामा आउँदैन, संसदीय दलको बैठकपछि एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं सांसद सिग्देलले भनिन्, 'पाँच दलीय गठबन्धनले केन्द्रबाट जे निर्णय गर्छ त्यसलाई मान्छौं।'

प्रदेशका कारणले गठबन्धनमा समस्या नआउने उनले जिकिर गरिन्। 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डे गत कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिबेला एकीकृत समाजवादी र कांग्रेसबीच ६-६ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। त्यहीं सहमति अनुसार अहिले कांग्रेसले सत्ता हस्तान्तरण गर्न दबाब दिइरहेको छ। यसमा माओवादीले पनि कांग्रेसलाई साथ दिएको छ।

कांग्रेस र माओवादी सांसदले मुख्यमन्त्रीविरूद्ध हस्ताक्षर संकलन गर्ने तयारी गरेका छन्। यससँगै आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने उनीहरूको तयारी रहेको एक नेताले बताए।

गत वर्ष मुख्यमन्त्री हुँदा पाण्डेलाई बागमती प्रदेशमा रहेका १०९ मध्ये ५९ सांसदको समर्थन गरेका थिए। जसमा माओवादीका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका एक सांसद छन्।

यता नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले अबको केही दिनमा नेपाली कांग्रेसले बागमती प्रदेश नेतृत्व गर्ने टिप्पणी सार्वजनिक गरिसकेका छन्।


Author

थप समाचार
x