बागमती

बागमती प्रदेशमा मुख्यमन्त्री फेर्ने तयारी, पाण्डे सकारात्मक

सरिता दाहाल |
असार १७, २०७९ शुक्रबार १९:४५ बजे

मकवानपुर । हिजोसम्म प्रदेशको मुख्यमन्त्री फेर्ने प्रसङ्गमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एकाएक सरकारको नेतृत्व छाड्न सकारात्मक भएका छन् । बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिइनुको मुख्य कारण सत्तागठबन्धनमै रहेका माओवादी र कांग्रेसले आआफ्ना सांसदहरूको हस्ताक्षर संकलनको तयारी हो ।

माओवादी र कांग्रेसले मुख्यमन्त्री पाण्डे विरुद्ध हस्ताक्षर संकलन गर्ने तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छाड्न सकारात्मक देखिएका हुन् । पछिल्लो समय पाण्डेले केन्द्रको आदेश बिना सरकार नछोड्ने प्रतिक्रिया दिंदै आएका थिए ।

माओवादी र कांग्रेसले सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी समेत गरिरहेको बेला पाण्डे सरकारको नेतृत्व छाड्न तयार भएका हुन् ।

सरकार छाड्नैपर्ने अवस्था सिर्जना भएपछि मुख्यमन्त्री पाण्डेले संसदीय दलको बैठक बोलाएका छन् ।

शनिबार बस्ने गरी पार्टीले बैठक बोलाएको नेकपा एकीकृत समाजवादी संसदीय दलका सचेतक मुनु सिग्देलले जानकारी दिइन् । गठबन्धनभित्र सरकार फेरबदलको विषयमा छलफल हुनेछ, अब बन्ने सरकारमा हाम्रो कतिजना मन्त्री रहने भन्ने बारेमा छलफल हुन बाँकी छ” सिग्देलले भनिन् “हामीले संसदीय दलको बैठक बस्ने तयारी गरेका हौँ ।”

११ कात्तिकमा मुख्यमन्त्री बनेका पाण्डेको सरकारमा एकीकृत समाजवादीका चारजना मन्त्री छन् । ‘सरकार फेरबदलको विषय शीर्ष नेतृत्वबाट टुंगिनुपर्ने र आफूहरु प्रदेशले अफ्ठ्यारो अवस्था सिर्जना नगर्ने उनले बताइन् ।

पाण्डेको नेतृत्वमा सरकार गठन गर्दा समाजवादी, कांग्रेस र माओवादीबीच सरकार ६÷६ महिना नेतृत्व गर्ने भद्र सहमति भएको थियो । सहमति कार्यान्वयन गर्न पाण्डे अनिच्छुक देखिएपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लगातार दबाब दिएका थिए ।  “सहमति अनुसार पाण्डे नेतृत्वको सरकारले बजेट प्रस्तात गर्‍यो र पारित पनि भयोे, अबको पालो काँग्रेसको हो” एक कांग्रेस नेताले भने ।

ससदीय दलको बैठक

सरकारको नेतृत्व छोड्नु पर्ने अवस्था आएपछि मुख्यमन्त्री राजेन्द्र पाण्डेले संसदीय दलको बैठक बोलाएका छन् । शनिबार बिहान ११ बजे बस्ने गरी दलको बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश सांसद कुसुम कार्कीले जानकारी दिए ।

समसामयिक विषयमा छलफल गर्न मुख्यमन्त्रीले दलको बैठक बोलाइएको हो । एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष रहेका पाण्डे गत ११ कात्तिकमा गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री पाण्डेलाई तत्कालिन समयमा बागमती प्रदेशका कुल १०९ जना सांसदमध्ये ५९ सांसदको समर्थन रहेको थियो । मुख्यमन्त्री पाण्डेलाई माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाको एक सांसदको समर्थन गरेका थिए ।
 



Author

थप समाचार
x