बागमती

छात्रवास र नगर बसको व्यवस्था माग

इकागज |
असार १७, २०७९ शुक्रबार १२:३४ बजे

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी मकवानपुरले हेटौंडामा छात्रवास र नगर बसको व्यवस्था माग गरेको छ । संगठनले सामुदायिक विद्यालयले असुल गर्दै आएको शुल्क खारेजी समेत माग गरेको छ । संगठनले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरिएको हो।

हेटौंडा उपमहानगरपालिका आर्थिक रूपमा सम्पन्न हुंदाहुंदै कलिला बालबालिकालाई पौष्टिकयुक्त खाजाको लागि प्रतिव्यक्ति १० रूपियाँ थप गर्न माग गर्दा उक्त एजेन्डालाई बेवास्ता गरेको प्रति संगठनको ध्यानाकर्षण भएको जनाएको हो । संघीय सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रतिव्यक्ति १५ रुपैयाँ दिदै आएकोले यो कमी भएको महसुस गर्दै उपमहानगरपालिकाले १० थपेर २५ रूपैयाँ पुर्‍याउन माग गरिएको छ।


हेटौंडाको निजी शैक्षिक संस्थाले माफियालाई पाल्न कै लागि पाठ्यपुस्तक परिवर्तन गर्ने, पोशाक खरिदमा हुँदै आएको एकाधिकार रोक्नु पर्ने माग संगठनले गरेको छ । निजी विद्यालयहरूले मनोमानी रूपमा आफूखुसी तोक्दै आएको शुल्कमा नियन्त्रण हुनुपर्ने माअग अनेरास्ववियुले गरेको छ । यसैगरी स्कुल समयमा स्कुल अगाडि हेभि सवारी रोक्नुपर्ने, शैक्षिक संस्थाको नजिक सुर्तीजन्य, मदिराजन्य पदार्थको बिक्रीवितरण नियन्त्रण गर्नुपर्ने, विद्यार्थीलाई सवारी साधनमा ४५ प्रतिशत छुट दिनुपर्ने माग रहेको संगठन जिल्ला अध्यक्ष विशाल पौडेलले बताए ।

संगठनले यस बारे नगरपालिका, जिल्ला प्रशासनसमक्ष ज्ञापन पत्र बुझाए पनि यसको सुनुवाइ भएको छैन । असारको तेस्रो साता लाग्दासम्म सरकारी विद्यार्थीहरूले पाठ्यपुस्तक नपाएको कारण पढाई अवरुद्ध भएको प्रति संगठनको ध्यानाकर्षण भएको पौडेलले बताए । अबको एक सातामा पुस्तक उपलब्ध हुनुपर्ने र नभएमा आन्दोलन गर्ने संगठनको तयारी रहेको अनेरास्ववियु केन्द्रिय कमिटी स्थायी कमिटी सदस्य सन्तोष पौडेलले बताए ।

सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि स्पिड नियन्त्रणमा समेत ध्यान दिन प्रशासनसमक्ष अनुरोध गरिएको पौडेलले बताए । अब सरोकारवालासंग अन्तरक्रिया गर्ने र चरणबद्ध आन्दोलन गर्ने पौडेलले बताए । दिवाखाजाको बारेको सवालमा नीति तथा कार्यक्रममा थप गरिने आश्वासन नगर प्रमुखबाट पाएकोले आगामी २० असारसम्म पर्ख र हेरको अवस्थामा आफूहरू रहेको अध्यक्ष पौडेलले बताए । २० असारसम्म पनि दिवा खाजाको माग पूरा नभए विद्यार्थी लिएरै आन्दोलनमा उत्रने अध्यक्ष पौडेलले बताए ।


Author

थप समाचार
x